Logo
८ कार्तिक २०८३, आईतवार
|  Sun Oct 25 2026

ब्याजदरबारे राष्ट्रबैंकको सर्कुलर, शेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषण


बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी रुपमा ब्याजदर वृद्धि गरेपछि प्रत्यक्ष प्रभाव परेको शेयर बजार राष्ट्र बैंकको पछिल्लो निर्देशनसँगै के होला भन्ने आम चासो बढेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका नाममा मंगलबार एक निर्देशन जारी गर्दै जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्रै परिवर्तन गर्न सक्ने भनेको छ । राष्ट्र बैंकको यो निर्देशनपछि जथाभावी रुपमा निक्षेपको ब्याजदर वृद्धि गरेका बैंक तथा वित्तिय संस्थाहरु परिबन्धमा परेका छन् । ब्याजदर वृद्धि गरेका बैंक तथा वित्तिय संस्थाहरुले नियामक निकाय राष्ट्र बैंकको निर्देशन पालना गर्नैपर्ने बाध्यकारी व्यवस्थाका कारण अब ब्याज नघटाई सुख पाउने छैनन् । जसको प्रत्यक्ष प्रभाव फेरि शेयर बजारमा देखिने भएको छ । ब्यााजदर वृद्धिसँगै उच्च अंकले गिरावट आएको शेयर बजारमा राष्ट्र बैंकको निर्देशनले सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन् ।
मुद्धती निक्षेपमा प्रदान गरिने व्याजदरका विषयमा राष्ट्र बैंकले जारी गरेको निर्देशनमा प्रष्टसँग भनिएको छ , ‘ संस्थागत मुद्धती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्नेछ ।’ राष्ट्रबैंकको यो निर्देशनसँगै बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत मुद्धती निक्षेपमा समेत मनपरी गर्न पाउँने छैनन् । यसको प्रत्यक्ष प्रभाव पनि शेयर बजारमा पर्ने शेयर विल्लेषकहरुको बुझाई छ ।
ब्याजदरका सम्बन्धमा राष्ट्रबैंकले जारी गरेको सर्कुलर बुधबार नै कार्यान्वयनमा ल्याइसक्नुपर्ने भनिएको छ । बुधबार बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो वेभसाइटमा संसोधन गर्नुपर्ने र ५ गतेभित्र दैनिक पत्रपत्रिकामा प्रकाशित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार