Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

राष्ट्रिय सेवा दलद्वारा बेबिलोनमा केन्द्रीयस्तरको वत्तृत्वकला आयोजना


 नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलले बेबिलोन नेशनल स्कुल शान्तिनगरमा शुक्रबार केन्द्रीयस्तरको जुनियर क्याडेट वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
मुलुकका ७७ वटै जिल्लाका संस्थागत र सामुदायीक विद्यालयमा गठन गरिएको राष्ट्रिय सेवा दलमा आवद्ध भएका जुनियर क्याडेट विद्यार्थीहरुले भाग लिई अन्तिम प्रतिष्पर्धामा छनौट भएका क्याडेटहरुलाई सहभागी गराई सो प्रतियोगिता आयोजना गरिएको हो ।

राष्ट्रिय सेवा दलका तालीम योजना तथा अनुगमन निर्देशक, सहायक रथी किरण केसीको प्रमुख आतिथ्यतामा शुक्रबार सोे प्रतियोगिता आयोजना गरिएको थियो ।
बेबिलोनका विद्यार्थी सिजुका बस्यालले अप्रतियोगिको रुपमा आफ्नो प्रस्तुतिकरण गरेको सो प्रतियोगितामा झापा मोडेल सेकेण्डरी स्कुलकी क्याडेट कृतज्ञता थापा, विजेश्वरी ज्ञान मन्दीर सैनिक आवासिय महाविद्यालय काठमाण्डौकी जेशिका न्यौपाने, नारायणी पव्लिक स्कुल चितवनकी सौरभी हमाल, सैनिक आवासिय मावि भक्तपुरकी एन्जिला भुषाल, आइडियल बोर्डिंङ्ग स्कुल सुनसरीका सम्पन्न सुवेदीले आआफ्नो विषय प्रस्तुत गरेका थिए ।

यसैगरी सामुदायीक इंगलिस बोर्डिङ्ग स्कुल काभ्रेकी रोजिना थापा,राष्ट्रिय मावि कास्कीकी सविता क्षेत्री, आदर्श विद्या निकेतन मावि कञ्चनपुरकी आकृति कपाडी, महेन्द्र मावि मानेभन्ज्याङ्ग संखुवासभाकी सृष्टि श्रेष्ठ र सैनामैना परोहा परमेश्वर नमुना मावि कपिलवस्तुका दर्शन पौडेल र ईष्ट होराइजन इंगलिस हाईस्कुल झापाकी अन्जु मोक्तानले विभिन्न विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सहायक रथी केसीलाई बेबिलोन नेशनल स्कुलका प्राचार्य राजु राईले विद्यालयको तर्फबाट उपहार दिएका थिए । सो प्रतियोगिताको निर्णायकहरुमा सहायक रथी केसी, डा.राजेन्द्र केसी र बेबिलोन नेशनल स्कुलकी भाइस प्रिन्सिपल रीता कुमारी राई थिए । सो प्रतियोगिताको नतिजा केही दिनभित्र प्रकाशित गरिने बताइएको छ ।


विद्यालय जीवनदेखि नै किशोर किशोरीलाई राष्ट्रिय भावना जागृत गराउने उद्धेश्यले विगत ५६ वर्षदेखि नेपाली सेनाले सञ्चालन गर्दै आएकोे राष्ट्रिय सेवा दलले बेबिलोनका ३६ छात्रछात्रालाई सहभागी गराई गएको साउनमा बेबिलोन नेशनल स्कुलमा तालीम सञ्चालन गरि सो विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको थियो ।
‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ विद्यार्थीहरुलाई अनुशासनको जगमा कर्मशिल, मर्यादित र आफ्नो मुलुकप्रति सर्मपित र उर्जावान युवा तयार गर्ने उद्धेश्यले देशभरी राष्ट्रिय सेवा दलले तालीम सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार