गायक प्रकाश सपुतले आफ्नो गीत सकम्बरीप्रति क्षमा मागेका छन् । गीतले चर्चासँगै विवादको रुप लिएपछि सपुतले क्षमा मागेका हुन् । नेपालमा गितको चर्चा र विवाद दुबै भइरहेका बेला अमेरिकामा रहेका सपुतले अमेरिकाबाटै गीतबारे एउटा लामो प्रष्टिकरण पत्र लेखेर क्षमा मागेका छन् । सपुतको गीत सकम्बरीले युटयुबमा सात दिनमा नै करोड बढी भ्युज पाइसकेको छ ।
गीतले रात्रिकालीन व्यवसायलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले विज्ञप्ति नै निकालेर आपत्ति जनाएपछि सपुतको क्षमा सहितको प्रष्टिकरण आएको हो ।
सपुतले प्रष्टीकरणपत्रमा भनेका छन् ,मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, सबैसँग क्षमा चाहन्छु । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहिँ निर्माण भएको हो । त्यसैले कमजोरी छैन भन्दिन, छ छ ।
सपुतले रात्रिकालिन व्यवसायी संघका अध्यक्षलाई सम्बोधन गरेर लेखेको पत्रमा अहिले आफू अमेरिकामा रहेको र नेपाल फर्किएपछि दोहोरी साँझमा बसेर गीतको समिक्षा गर्ने र मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउने बताएका छन् । त्यसका लागि मिठो भाका छान्दै गर्न उनले रात्रिकालिन व्यवसायी संघका अध्यक्षलाई आग्रह समेत गरेका छन् ।






