Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रविसँग लडेकाको २ भोट, सय नकटाउँने १६ जना ( भिडियो रिपोर्ट )


चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजय हासिल गरिरहँदा सोही क्षेत्रमा रवि लामिछानेसँग चुनाव लडेका १६ जना उम्मेदवारले सय मत पनि कटाउन सकेनन् । लामिछाने विशाल मत अन्तरले चितवनमा निर्वाचित भइरहँदा चितवन क्षेत्र नं २ मा जम्मा २ मत मात्रै ल्याउने उम्मेदवार पनि देखिए । स्वतन्त्र रुपमा चुनाव लडेका तारा प्रसाद पौडेलले जम्मा २ मत ल्याए भने अर्का स्वतन्त्र उम्मेदवार सन्तोष थापाले ३ मत ल्याए । पौडेलको चुनाव चिन्ह नरिवल थियो भने सन्तोष थापाको चुनाव चिन्ह पुतली थियो ।

चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका २२ जना मध्ये १६ जनाले सय मत नै कटाउन सकेनन् भने सय कटाएका तीन जना उम्मेदवार पनि ३७५ मत भन्दा माथि उक्लिन सकेनन् ।

माछा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार रामकृष्ण ओझाले ९, डोजर चिन्ह भएका स्वतन्त्र उम्मेदवार सुवास परियारले १२, क्रस खुकुरी चुनाव चिन्ह भएका विक्रम श्रेष्ठले १३, सिरिञ्ज चिन्ह भएका स्वतन्त्र उम्मेदवार मोजराज बगालेले १६ मत ल्याए । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैशीले १८, स्वतन्त्र उम्मेदवार सुमन श्रेष्ठले १९, लक्ष्मीमाया कोइराला बुढाथोकीले २१, भाष्कर चन्द्र न्यौपानेले २१, अम्बिका भट्टले ३७, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्र कुमार पाख्रिनले ३८, चंगा चिन्ह भएका राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठले ४१, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ४७, जय जन्मभूमी पार्टीका प्रेम बहादुर खड्काले ७२ र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारीले ७५ मत प्राप्त गरे ।
सय मत कटाउँन सफल भएको राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले ११० मत प्राप्त गरे भने कुखुराको भाले चुनाव चिन्ह भएका मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले २११ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३७५ मत ल्याए ।

उता तनहुँ २ मा रास्वपाका डा.स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजय हाँसिल गरिरहँदा यो क्षेत्रमा चुनावी प्रतिष्पर्धामा उत्रिएका ९ जना मध्ये ४ जनाले सय मत पनि कटाउँन सकेनन् । नेकपा समाजवादीका गणेश श्रेष्ठले सबैभन्दा कम ५ मत ल्याए भने नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१ मत प्राप्त गरे । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राणाले ८७ मत ल्याए भने नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनारले ९९ मत प्राप्त गरे । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी कसैको पनि परेको थिएन । सय मत कटाएका २ उम्मेद्वार २१८ मत भन्दा माथि उक्लिन सकेनन् । राप्रपाकी शोभा गुरुङले २१८ मत प्राप्त गरिन् भने मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १६६ मत मात्रै प्राप्त गरे ।

तनहुँ र चितवन २ को निर्वाचनलाई हेर्दा यी दुई क्षेत्रमा रास्वपा, कांग्रेस र एमाले बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुको अवस्था अत्यन्तै नाजुक देखिएको हो । रास्वपाले सर्वाधिक मत अन्तर सहित विजय हासिल गर्दा एमाले र कांग्रेस निकै तल देखिए । तनहुँ २ मा रास्वपाका निकटतम प्रतिष्पर्धी बनेका गोविन्द भट्टराईले यसअघि गएको मंसिर ४ मा कांग्रेसले प्राप्त गरेको मत जोगाउँन सकेनन् भने एमालेका सर्वेन्द्र खनालको हविगत झनै कमजोर देखियो ।

खनालले यसअघि एमालेले प्राप्त गरेको मत मध्ये आधा मत पनि जोगाउन सकेनन् । उनले ८ हजार ४८८ मत मात्रै प्राप्त गरे । जबकि यो क्षेत्रमा गएको मंसिर ४ को निर्वाचनमा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए । यस्तै यसअघि मंसिर ४ को निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३१८ मत सहित विजयी भएका थिए । तर, यसपटक यो क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्रै प्राप्त गरे ।

उता चितवनमा त कांग्रेस र एमालेको हरिबिजोग नै भयो । रवि लामिछानेले आफ्ना निकटतम प्रतिष्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठको भन्दा ४२ हजार ९६२ मत बढी ल्याएर चुनाव जिते । रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गर्दैगर्दा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । यसअघि गएको मंसिर ४ को निर्वाचनमा भन्दा कांग्रेस र एमालेका उम्मेदवारले यसपटक प्राप्त गरेको यो मत निकै कम हो । त्यतिबेला कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । अरु दलका उम्मेदवारको मत अघिल्लो पटकको भन्दा धेरै मात्रामा घटिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको मत भने यसपटक ४ हजार ८७६ ले बढेको देखियो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार