Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

उदीयमान रास्वपा लगायत साना दलहरुलाई मौका : महेन्द्र थापा


सक्कली नेपाली नागरिकलाई मोटो रकम असुल्दै नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने जालोको भण्डाफोर हुँदै गर्दा ठुला भनाउँदा नेताहरु र दलहरुको साख र बिश्वसनियता रसातलमा पुगेको छ । यो प्रकरण बर्षौंदेखि चल्दै आएता पनि हालै मात्र अमेरिकी पहल कदमीमा सतहमा आएको छ । यो स्वागतयोग्य र अपरिहार्य पहलकदमी भएतापनि यस घटनालाई मैले अलिक पृथक कोण बाट हेरेको छु । एउटै मट्याङग्राले धेरै वटा शिकार गरिने गरी उजागर गरिएको यो प्रकरण राजनीतिक रणनीतिक रुपले निकै नै पेचिलो साथै अर्थपुर्ण छ ।

यस घटना सँगै बिकाश हुने राजनीतिक घटनाक्रम, अन्य बिषय र प्रकरणहरुको उजागर, राजनीतिक समिकरणमा आउने बदलाव, पार्टीभित्र शुरु भएका ध्रुविकरण , आन्तरिक कलह तथा असन्तुष्टि, अन्तर पार्टीको बढ्दो बैमनस्यता तथा टकरावले ल्याउने परिणामहरुलाई आँकलन गर्दै गर्दा नेपालको राजनीति अत्यन्तै नाजुक र तरल अवस्थामा प्रबेश गरेको देखिन्छ । त्यसै पनि कुनै संगठन वा पार्टीहरु धेरै पुराना भईसकेको अवस्थामा त्यसको अवसान वा पुनर्गठन अवस्यम्भावी हुन्छ । त्यसैले यो कठिन परिस्थितिमा सबै भन्दा अप्ठ्यारो ठाउँमा काँग्रेस उभिन पुगेको म देख्दछु । यसबेला काँग्रेस भित्र सभापतिको आत्मालोचना सहितको राजिनामा वा पार्टी बिभाजन वा पार्टीभित्र पुनर्गठन र पुनर्संरचना गर्ने मात्र बिकल्प बाँकी छ भने एमाले अहिले पनि आन्तरिक रुपमा एकढिक्का र अबिचलित देखिन्छ । माओवादीको हातबाट गराईएको यस कारबाहीप्रति कांग्रेस र एमाले रुष्ट हुने छन् साथै राजनीतिक रुपमा अनुदार र असहिष्णु हुने पक्का छ ।

यी सबै बिकसित घटना र परिघटनाहरुलाई एक ठाउँमा राखेर बिश्लेषण गर्ने हो भने यसबाट प्रत्यक्ष र परोक्ष रुपमा रास्वपा बाहेक कसैलाई रणनितिक लाभ हुने देखिदैन । यस बिकराल परिस्थितिको रणनितिक लाभ लिन राप्रपा हौसिए पनि उसलाई कुनै लाभ हुने छाँटकाँट देखिंदैन । राप्रपा बिरुद्ध धार्मिक असहिष्णुताको ट्याग भिराइने छ भने मधेस र संघियता बिरोधिको ट्याग झुण्ड्याएर रक्षात्मक अवस्थामै सिमित राखिने देखिन्छ । मधेसबादी दलहरुको साख र बिश्वसनियता यसअघि नै धुलिसात र क्षत बिक्षत बनाई सकिएको अवस्थामा अब नेपालको राष्ट्रिय राजनीतिमा रास्वपा एकल रुपमा निसन्देह उदय हुने कुरा पक्का छ ।

तर रास्वपा पार्टीमाथि तीनवटा शक्ति ब्लकहरु पश्चिमा राष्ट्र, उत्तरी ब्लक र भारतिय अलाइन्सको कडा प्रतिस्पर्धा र निगरानी हुने निश्चित छ । यी सबै तरलतालाई मध्यनजर गर्दै अबिलम्व रास्वपाले वस्तुगत, तथ्यगत, भु–राजनीतिक जटिलता र अन्तराष्ट्रिय शक्ति संघर्षको होडबाजीलाई सटिक बिश्लेषण गरेर आफ्नो परराष्ट्र नीतिलाई सन्तुलित र परिस्कृत गर्न नसकेको खण्डमा त्रिशंकु कोप भाजनमा परेर पार्टी बन्न नपाई बिभाजन वा अवसान हुने सम्भावना पनि उत्तिकै देखिन्छ । त्यसैले रविजी लगायत रास्वपाका नेतृत्वहरुलाई सचेत र सजग रहनका लागि सल्लाह दिन्छु । कहिले काहिँ धेरै हौसियो भनेपनि प्राप्त उपलब्धी गुम्ने गर्छ । रास्वपालाई बर्तमान तरलता र राजनीतिक जटिलता बाट प्राप्त हुने रणनीतिक लाभका लागि शुभकामना ।


प्रतिक्रिया दिनुहोस !
विचार