Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

मास्टर्स डिग्रीवाला निर्णयले रवि लामिछानेलाई तनाव


राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका विभागहरुको प्रमुख बन्नका लागि मास्टर्स डिग्री गरेको हुनुपर्ने निर्णय गरेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातिएको छ ।

पार्टीको विभाग प्रमुख बन्नका लागि मास्टर्स डिग्री गरेको हुनुपर्ने वा सम्बन्धित क्षेत्रमा १० वर्षे अनुभव प्राप्त गरेको हुनुपर्ने या आसाधारण क्षमता भएको हुनुपर्ने भनिएपछि पार्टी सभापति रवि लामिछानेको शैक्षिक योग्यताको प्रश्न उठाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले खिसिटिउरी गरिरहेका छन् ।

उनीहरुले विभिन्न स्टाटसका माध्यमबाट सोधिरहेका छन्, पार्टीको विभाग प्रमुख बन्नका लागि मास्टर्स डिग्री गरेको हुनुपर्छ भने पार्टी प्रमुख बन्नका लागि चाहिँ कति पढेको हुनुपर्छ ? पार्टी सभापति रवि लामिछानेको पढाई चाहिँ प्लस टु भए हुने अनि उनी मातहतमा रहने विभागका प्रमुखहरुले चाहिँ मास्टर्स गरेको हुनुपर्ने ? यी प्रश्न अहिले सामाजिक सञ्जालभरी पोखिएका छन् । केहीले सामाजिक सञ्जालमा लेखेका छन्, कि यस्तो निर्णय सभापति रवि लामिछानेका हकमा लागु नहुने अरुका हकमा चाहिँ लागु हुने भनेर भन्दिनुपरर्यो । होइन भने प्लस टु वाला पार्टी प्रमुख हुँदा हुने अनि विभाग प्रमुख चाहिँ मास्टर्स डिग्रीवाला भन्ने कुराको तुक भएन ।

त्यसो त नेपाली राजनीतिमा शैक्षिक योग्यताको बहस केही वर्ष पहिले देखि नै उठेको हो । संविधानसभाबाट संविधान बनाउँने समयमा नै केहीले शैक्षिक योग्यताको प्रश्न उठाउँदै सांसद बन्न चाहनेहरुका लागि स्नातकको प्रावधान राखिनुपर्ने बताएका थिए । तत्कालिन संविधानसभा सदस्यहरुलाई यो प्रावधान राख्नका लागि केहीले दबाब पनि दिएका थिए । नीति निर्माण तहमा रहनेहरु आँैठा छाप भएपनि हुने अनि लोकसेवाका लागि चाहिँ पढेकै हुनुपर्ने ? भन्दै केहीले प्रश्न पनि गरेका थिए । तर, यो बहस संविधानसभामा भएन ।

संविधानसभा बाहिर चोक चोकमा र चिया पसलमा राम्रैसँग चल्यो । तर, त्यसले खास अर्थ राखेन । राजनीतिमा शैक्षिक योग्यताको बहस निरर्थक भन्दै यो विषय त्यत्तिकै सामसुम भयो । अहिले रास्वपाले आफ्ना विभागका प्रमुखहरुका लागि शैक्षिक योग्यतालाई मापदण्डको एउटा आधार बनाएपछि फेरि राजनीतिमा शैक्षिक योग्यताको आवश्यकता बहसको विषय बनेको छ ।

सम्भवतः रवि लामिछाने पनि मास्टर्स डिग्री होल्डर भएका भए र उनको पार्टीले विभागीय प्रमुखहरु मास्टर्स डिग्रीहोल्डर हुनुपर्ने भनेर निर्णय गरेको भए अहिले यो विषय खिसिटिउरीको विषय बन्ने थिएन । बरु संविधानसभा आसपासबाट नै शुरु भएको राजनीतिमा शैक्षिक योग्यताको बहसले यतिबेला सार्थक रुप लिने थियो । रवि लामिछाने नेतृत्वको पार्टी अहिलेको जल्दोबल्दो पार्टी हो, त्यो पार्टीले गरेको निर्णय अरुका लागि अनुसरणीय निर्णय बन्न सक्थ्यो । भर्खर उदाएको पार्टी जसप्रति यतिबेला धेरैको नजर छ त्यो पार्टी जसले गरेको निर्णयले अरु पार्टीमा पनि नैतिक दबाब सिर्जना हुन सक्थ्यो । तर, पार्टी प्रमुख चाहिँ प्लस टु वाला भएपनि हुने अनि विभागीय प्रमुख चाहिँ मास्टर्स ड्रिग्रीवाला नै हुनुपर्ने भन्ने निर्णयले भने धेरैलाई उदेक लागेको छ ।

पार्टी सभापति पनि मास्टर्स डिग्रीवाला नै भए कुरो बेग्लै हुन्थ्यो । या रास्वपाले पार्टी प्रमुखमा पनि मास्टर्स डिग्रीवाला नै ल्याउँने भयो भनेको भए मान्छेले खिसिटिउरी गर्ने थिएनन् होला । तर, कुरो अप्ठेरो देखियो ।


प्रतिक्रिया दिनुहोस !
विचार