अमेरिका र रुसका राष्ट्रपतिहरुबीच आज भेटघाट हुने भएको छ ।
द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार आगामी जुन १६ मा स्वीट्जरल्यान्डको जेनेभामा भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिन सहमत भएका छन् । तिक्ततापूणर् सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रका प्रमुखहरूबीच बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो ।
एक दिनको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको बताइएको छ ।
सन् १९८५ मा सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो ।
सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूणर् बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ। यी दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो छ। केही समयअघि बाइडेनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पुटिनलाई ’हत्यारा’ भनेका थिए । जवाफमा पुटिनले पनि रूखो प्रतिक्रिया दिँदै नयाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए ।
पश्चिमाप्रति निकै आक्रामक भाषा प्रयोग गर्ने रूस बाइडेन-पुटिन वार्तामा भने आशावादी देखिएको छ । पुटिनलाई यस्तो उच्चस्तरीय भेटले विश्व मञ्चमा रूसले सम्मान बढाउन सघाउँछ भन्ने लाग्छ । बाइडेनसँगको भेटका क्रममा उनले रूसभित्र र पूर्वी युरोपमा आफ्नो हितलाई अमेरिकाले सम्मान गर्नुपर्ने कुरा राख्ने अनुमान गरिएको छ । रूसले पहिलादेखि नै वासिङ्टनले पुटिनको शासन र पूर्वी युरोपमा उसको प्रभावलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै आएको छ ।
ह्वाइटहाउसका अधिकारीहरूले बाइडेन-पुटिन भेटवार्ताले कुनै ब्रेकथ्रु हुने अपेक्षा गरेका छैनन् । तर पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड-१९ महामारीविरूद्धको लडाइँमा सहकार्य गर्ने विषयमा कुरा गर्न सक्ने बताएका छन् ।
रेगनसँग १९८५ मा वार्ता गरेका गोर्वाचेभले बाइडेन-पुटिन भेट हुने कुराले आफू खुसी भएको बताएका छन् । उनले बाइडेन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा भर पर्दा भएको पनि उल्लेख गरेका छन् ।