Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

ओली हजुरबा र दुर्गा नाती !


दुर्गा प्रसाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि यतिबेला टाउको दुखाईका पात्र बनेका छन् । आफूलाई हजुरबुबा भन्दै आफ्ना विरुद्धमा नै व्यापक अभिव्यक्ति दिँदै आएका प्रसाईका कारण अहिले ओली निकै तनाबमा छन् ।

पछिल्लोपटक प्रसाईँले कम्बोडियामा एमाले अध्यक्ष केपी ओलीको टेलिकममा लगानी रहेको आरोप लगाएपछि उनी तनाबमा परेका हुन् । यो तनाबको कुरा केहीदिनअघि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केपी ओलीले सिंहदरबारमा सुनाएका रहेछन् । प्रधानमन्त्री प्रचण्डसँग ओलीले यो दुर्गा प्रसाई भन्ने मान्छेले हुँदै नभएको आरोप लगाउँदै मेरो बदनाम गरिरहेको छ र गणतन्त्रमाथि नै धावा बोलिरहेको छ यसलाई कारबाही गर्नुप¥यो भनेछन् ।

ओलीले भनेछन् : कि त कम्बोडियामा मेरो लगानी रहेको प्रमाणित हुनुप¥यो नत्र जथाभावी अभिव्यक्ति दिँदै हिँड्ने दुर्गा प्रसाईँलाई पक्राउ गर्नुप¥यो । फरक सन्दर्भमा भएको भेटमा ओलीले दुर्गा प्रसाईँको विषयलाई प्राथमिकताका साथ उठाएको कुरा प्रधानमन्त्री प्रचण्डले आफू नजिकका नेताहरुसँग श्यरिङ गरेपछि ओली दुर्गा प्रसाईँका कारण निकै तनाबमा रहेको बुझिएको हो । त्यसो त दुर्गा प्रसाईँका कारण एमाले नेतृत्व तनाबमा रहेको बुझ्न अरु कुरा गर्नै पर्दैन । केही दिनपहिले युवा संघले प्रसाईँमाथि कालोमोसो छ्याप्दै ओली बा जिन्दावाद, महेश बस्नेत जिन्दावाद, दुर्गा प्रसाई मुर्दाबाद भन्दै लगाएका नाराबाट पनि एमाले नेतृत्व दुर्गा प्रसाईदेखि आगो भएको छ भन्न सकिन्छ ।

नेपाली राजनीतिमा आरोप प्रत्यारोप असामान्य र अस्वभाविक होइन । जसले जसका विरुद्धमा जति धेरै आरोप लगाउँन सक्छ र अफबाह फैलाउन सक्छ उही व्यक्ति नै राजनीतिमा स्थापित भएको दृष्टान्त छ । ओली स्वयं पनि त्यसका अपबाद होइनन् । ओली ७० को दशकमा माओवादीका विरुद्ध व्यापक आक्रोश ओकल्दै राष्ट्रिय राजनीतिको केन्द्रमा पकड जमाएका नेता हुन् । त्यसो त आरोपकै कुरा गर्दा ओली लगायतका धेरै नेताहरु जसले तत्कालिन अवस्थामा राजपरिवारको विदेशी बैंकमा अरबौं रुपैंयाँ छ, उनीहरुले देशको भएभरको सम्पति उतै लगेर थन्क्याएका छन् भन्दै कडा आरोप लगाउँने गर्थे । त्यति मात्र होइन, आफूहरु सत्तामा पुगेको अवस्थामा विदेशमा भएको त्यो पैसा ल्याएर जनताका घर घर पु¥याइदिने सम्मका सपना बाँड्थे । तर, ओली लगायतका नेताहरु पटक पटक सत्तामा पुगे । तर, उनीहरुले न त राजपरिवारको सम्पति विदेशी बैंकमा रहेको पत्ता लगाउँन सके न त आफूहरुले लगाएको त्यो आरोप प्रमाणित गरिरहनुपर्ने कुनै आवश्यकता नै ठाने ।

त्यसो त यस्ता आरोपका सन्दर्भ बग्रेल्ती छन् । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्ईले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र शेरबहादुर देउवाले बुढिगण्डकी जलविद्युत आयोजनामा ९÷९ अर्ब रुपैंयाँ बाँडीचुँडी खाएको आरोप लगाए । तर, पछि बाबुराम भट्टराईले प्रचण्ड देशका लागि नभई नहुने नेता भन्दै आफूले निर्वाचन लड्दै आएको गोरखाको निर्वाचन क्षेत्र नै प्रचण्डका लागि छाडिदिएनन् मात्रै प्रचण्डको चुनावी प्रचार प्रसारको कमाण्डर नै बनेर हिँडे ।

आरोप लगाउने तर, त्यसलाई प्रमाणित गर्न नपर्ने । जे बोलेपनि हुने जसो भनेपनि हुने यो नेपाली राजनीतिमा स्थापित हुने एउटा गज्जबको रणनीति हो । त्यसका प्रणेता ओली, प्रचण्ड, देउवा, माधव नेपाल लगायतका नेताहरु हुन् । जसको सिको प्रचण्ड र ओलीकै कुनैबेलाका विश्वासपात्र दुर्गा प्रसाईले गरिरहेका छन् । तर, हिजो हामीले पनि धेरैलाई धेरै आरोप लगायौं, प्रमाणित गरिरहनुपर्ने आवश्यकता नै ठानेनौ भनेर ओलीहरु सोचिरहेका छैनन् । दुर्गा प्रसाईले आज नभएको आरोप लगाइरहेका हुन् भने त्यस्तो आरोप लगाउँन सिकाउँने मूख्य गुरु ओली लगायतका अहिलेका स्थापित नेताहरु नै हौं भन्ने उनीहरुले ठानिरहेका छैनन् ।

कम्बोडियामा ओलीको लगानी छ या छैन त्यो ओली ,उनका वरिपरिका मान्छे अनि दुर्गा प्रसाईहरुले जानून् । तर, फगत अरोप लगाएर अरुको उछितो काढेर राजनीतिमा स्थापित भइन्छ भन्ने पाठ चाहिँ ओलीका नाति दुर्गा प्रसाईहरुलाई सिकाउँने ओलीहरु नै हुन् भन्ने मानून् ।


प्रतिक्रिया दिनुहोस !
विचार