Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

राजावादीहरुको रोग


राजावादीहरु प्रायः सबैमा एउटै समस्या छ । यीनीहरु देशमा राजसंस्था फर्काउने भन्छन् तर, एकआपसमा मिलेर सँगै हिँड्न सक्दैनन् । एकले अर्काको अस्तित्व स्विकार्न हिच्किचाउने यीनीहरुको साझा र पुख्र्यौली जस्तै रोग हो । उतिबेला लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापाले एकै समयमा एउटै नामको पार्टी खोल्नुले राजावादीहरुको छाती कति सानो छ भन्ने कुरालाई प्रमाणित गर्छ । यीनीहरु प्रायः सबै आफैंले नेतृत्व गर्न पाउनुपर्छ भन्ने रोगबाट ग्रसित छन् । उतिबेलाको राप्रपा चन्द र राप्रपा थापा होस् या यतिबेलाको राजेन्द्र लिङदेनको राप्रपा र कमल थापाको राप्रपा नेपाल नै किन नहोस् यी सबै मै नेता भन्ने मानसिकताका उपज हुन् । अरुको नेतृत्व स्विकार्न सक्ने छाती राजावादीहरुमा भएको भए राप्रपा पटक पटक टुट्ने र फुट्ने थिएन भने अहिले नाङलो पसल जस्ता राजावादीहरुका अनगिन्ति खुद्रे अभियान हुने थिएनन् ।

पछिल्लो समय तुलनात्मक रुपमा दुर्गा प्रसाई नेतृत्वको अभियान राजसंस्था पक्षधरहरुको अभियान मध्ये ठूलो र चर्चामा रहेको अभियान हो भने पार्टीका हिसाबले राजेन्द्र लिङदेन नेतृत्वको पार्टी राजसंस्था पक्षधरहरुको सबैभन्दा ठूलो पार्टी हो । संघीय संसदमा यो पार्टीको अहिले १४ सिट छ । तर, पारा हेर्दा न त दुर्गा प्रसाई नेतृत्वको अभियानले अब ठूलो रुप लिने संकेत देखिन्छ न त राजेन्द्र लिङदेन नेतृत्वको पार्टी नै आकारका हिसाबले त्यति धेरै फैलने सम्भावना देखिन्छ । किनकि राजावादीहरुमा एउटै र उही पुख्र्यौली रोग छ, म भन्दा उ पो ठूलो होला कि भन्ने रोग । अघिल्लो वर्ष आत्महत्या गरे राजावादी अभियन्ता हेमविक्रम सिलवालले । राजसंस्था र हिन्दू राष्ट्र फर्काउन भन्दै काठमाडौंको रत्नपार्कमा एकपटक सत्याग्रह नै बसेका थिए उनी । माइतिघर मण्डलामा स्वतन्त्र नागरिक समाजका नामबाट आन्दोलन गरिरहन्थे । उनी अनौपचारिक रुपमा भन्ने गर्थे : मैले राजसंस्था फर्कनुपर्छ भनेर वर्षौैंदेखि कहिले माइतिघर मण्डला त कहिले रत्नपार्कमा आन्दोलन गर्दै आइरहेको छु । तर, मलाई राजसंस्था पक्षधरहरु नै कसरी कमजोर पार्न सकिन्छ भनेर दिनरात लागिरहेका छन् । उनीहरु हेमविक्रम सिलवालको कार्यक्रममा धेरै मान्छे गइ पो हाल्छन् कि भनेर चिन्तित छन्, त्यसैले मेरो कार्यक्रममा आउन चाहनेहरुलाई राजावादी भन्नेहरुले नै भडकाउँछन् ।

राजसंस्था पक्षधरहरुसँग नै चित्त दुखाउँदै विष सेवन गरेर आत्महत्या गरेका हेमविक्रम सिलवालको आत्महत्याको अर्को पाटो के थियो थाहा भएन तर, आत्महत्यापूर्व सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजसंस्था फर्काउने आन्दोलनका मामलामा राजसंस्था पक्षधर र त्यसमा पनि राजा ज्ञानेन्द्र शाहका नजिकका मान्छेहरुले नै असहयोग गरेको उल्लेख गरेका थिए । राजावादीहरुको मन कति सानो छ भन्ने बुझ्नका लागि आत्महत्यापूर्व उनले सामाजिक सञ्जालमा लेखेको त्यो स्टाटस काफी हुन्छ । एकले अर्कालाई सिध्याउन, एकले अर्कालाई कमजोर पार्न र राजावादीहरुका अनगिन्ति खुद्रे दोगानमा आफूलाई असली, खाँटी र ठूलो राजावादी देखाउँन गरिने अस्वस्थ प्रतिष्पर्धा राजावादीहरुको सबैभन्दा ठूलो रोग हो ।

पछिल्लो समयकै घटनाक्रम नियालौ । दुर्गा प्रसाई नेतृत्वको अभियान सत्ता र विपक्षी दलहरुका लागि टाउको दुखाईको विषय बनेको थियो । बालुवाटारदेखि सिंहदरबार सम्मका बैठकमा ठूला दलका नेताहरुले प्रसाई नेतृत्वको आन्दोलनकै चर्चा, अनुमान र विश्लेषण गर्थे । मान्छेका घर घरमा पछिल्लो दिन दुर्गा प्रसाई र उनको आन्दोलनको सकारात्मक होस् या नकारात्मक दुबै तबरले चर्चा हुन थालेको थियो । विस्तारै ठूला लगानीका मिडियामा समेत राजनीतिक बहस जबरजस्ती रुपमा भएपनि दुर्गा प्रसाई र उनी वरपर नै केन्द्रित थियो । एपीवान टेलिभिजनमा दुर्गा प्रसाईको अन्तर्वार्ता रोकिएको थियो भने अन्तर्वार्ता रोकिएपछि स्थापित सञ्चारकर्मी भुषण दाहालले टेलिभिजनमा विद्रोह गरेर त्यो अन्तर्वार्ता एउटा युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए ।

काठमाडौंको माइतिघर, बानेश्वर लगाएतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै सरकारले दुर्गा प्रसाई नेतृत्वको अभियानलाई आन्दोलनका लागि काठमाडौंको बल्खुमा ठाउँ तोकिदिएको थियो । त्यहाँको प्रदर्शनमा मान्छेहरुको उपस्थिती राजसंस्था चाहनेहरुका लागि उत्साहित हुने र गणतन्त्र पक्षधरहरुका लागि सोच्न बाध्य हुने प्रकृतिकै थियो । भोलिपल्ट दुर्गा प्रसाईलाई घरबाट बाहिर निस्कन दिइएन पर्सीपल्ट चाहिँ प्रदर्शनका लागि काठमाडौंको सिफल चउर तोकियो । तर, सिफल चउरमा मान्छेहरुको उपस्थिती न्युन रह्यो जति दुर्गा प्रसाई पक्षधरहरुले आंकलन गरेका थिए ।

अब यसको मुल कारण खोतलौं । त्यो मुल कारण भनेको राजावादीहरुको उही पुरानै रोग हो । आफ्नोमा भन्दा अर्को राजावादीको नेतृत्वमा भएको आन्दोलनमा मान्छे धेरै जालान् कि भन्ने मनोरोग ।

हुन त दुर्गा प्रसाईको आफ्नै अस्थिर अभिव्यक्ति पनि उनका लागि अभिशाप बनेको हो । कहिले राजसंस्थाका पक्षमा खुले जस्तो गर्ने त कहिले राजा रानीका कुरा नगरौं भन्दै प्रसाई पन्छिने गरेका थिए । कहिले राजसंस्थाका पक्षमा चर्को आवाज निकाल्ने त कहिले हामी व्यवस्था विरोधी होइनौं भन्दै विज्ञप्ती निकाल्ने ढुलमुले शैली प्रसाईमा देखिन्थ्यो । त्यही ढुलमुले शैलीले धेरै राजसंस्था पक्षधर उनी नेतृत्वको आन्दोलनमा जानबाट पछिल्ला दिनमा हच्किए । अरु विषयमा क्लियर कट कुरा गर्ने गरेपनि राजसंस्थाका विषयमा प्रसाईले सिधा र स्थिर कुरा नगरेकै हुन् । यद्यपि प्रसाईले एमालेमा विद्रोह गर्दै पूर्वराजालाई झापाको मेची पुलमा लगेर पूर्वराजाकै हातबाट अभियानको उदघाटन गरेका कारण उनलाई धेरैले राजावादीकै रुपमा हेरेको कुरा भने सत्य हो । अनि अर्को सत्य प्रसाई ठूला राजावादी बन्लान् कि भन्ने भयले राजावादी पार्टी र संघ संस्थाले नै प्रसाईको आन्दोलनमा सहभागी नहुन आन्तरिक उर्दी पनि जारी गरेकै हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार