Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

पूर्वराजा तर्सांउने हतियारः दरबार हत्याकाण्ड


सडकमा राजसंस्थाका पक्षमा आवाज उठिरहेका बेला देशका ठूला राजनीतिक दलहरुभित्र भने दरबार हत्याकाण्डको पुनः छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरहरुबाट गणतन्त्रमाथि खतरा उत्पन्न हुन थालेको भन्दै पूर्वराजा शाहको चुरीफुरी समाप्त पार्नकै लागि भएपनि दरबार हत्याकाण्डको पुनः छानबिन हुनुपर्ने आवाज उठेको हो । काठमाडौंमा दुर्गा प्रसाई नेतृत्वको अभियानदेखि लिएर राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा उठाउँदै आएको राप्रपाले समेत आन्दोलनको चेतावनी दिइसकेको अवस्थामा पूर्व राजालाई ठेगान लगाउँने गतिलो अष्त्र यही हुनसक्ने उनीहरुको ठम्याई छ ।

त्यसो त दरबार हत्याकाण्डको पुनः छानबिनको विषय यतिबेला मात्रै उठेको भने होइन । २०७३ पुसमा बसेको मन्त्रीपरिषदको एउटा बैठकमै केही मन्त्रीहरुले यो विषय उठाएको खबर त्यतिबेलै सार्वजनिक भएको थियो । तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीले पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था विरोधी विज्ञप्ती निकाल्न थालेको भन्दै उनलाई त्यतिकै छाड्न नहुने कुरा मन्त्रीपरिषद् बैठकमै रोखका थिए । उनको सो भनाईमा अन्य मन्त्रीहरुले पनि त्यतिबेला सहमति जनाएका थिए । तर, मन्त्रीपरिषदको बैठकमा उठेको यो विषय त्यतिकै सेलाएको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरहरुलाई बेला बेलामा तर्साउनका लागि दरबार हत्याकाण्डको विषय दलका नेताहरुले उठाउदै आएका थिए । यद्यपि यो विषय केही समय उठ्थ्यो र पछि त्यतिकै सेलाउने गर्दथ्यो । अहिले फेरि राजसंस्थाको पक्षमा सडकका आवाज बलियो बन्दै गएको अवस्थामा दरबार हत्याकाण्ड छानबिन गर्नुपर्ने आवाज दलहरुभित्र उठेको छ । यसलाई राजसंस्था पक्षधरहरुले पूर्वराजालाई दलका नेताहरुले तर्साउन खोजेको र पूर्वराजा शाह तर्साउने उनीहरुको योजना पूरा नहुने बताएका छन् ।

दरबार हत्यकाण्ड भएको दुई दशक बढी भएको छ । दुई दशकको अवधीमा दरबार हत्याकाण्ड पुनः छानबिनको चेतावनी दलका नेताहरुले पटकपटक दिइरहेका छन् । तर, उनीहरुको यो चेतावनी पूर्वराजालाई तर्साउने अष्त्र भन्दा बाहेक अरु केही होइन । नत्र दुई दशकको अवधीमा दरबार हत्याकाण्ड होस् या मदन भण्डारी र अन्य हत्याकाण्डहरु ती माथिको छानबिन गर्न कसले रोकेको थियो ?

गएको जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको रोष्ट्रममा उभिएर दरबार हत्याकाण्डको छानबिन पुनः नयाँ शिराबाट हुने बताएका थिए । उनले मदन भण्डारी हत्याकाण्डदेखि लिएर गौर हत्याकाण्ड सम्मका फाइलहरु खोल्न चेतावनी दिएका थिए । तर, उनको यो चेतावनी राजनीतिक रोटी सेक्नका लागि बाहेक अरु केही होइन भन्न अब पनि कुनै आइतबार कुर्न पर्छ र ? नत्र भने किन यो विषय त्यस्तो समयमा मात्रै उठाइन्छ जतिबेला राजसंस्थाका आवाज सडकमा उठ्छन् । राजसंस्था पक्षधरको आवाज दबाउने उद्देश्यले दरबार हत्याकाण्डको विषयमा दल तीनका नेता र सरकारले सौदाबाजी गर्न खोज्नु उनीहरुको कमजोर बुद्धि भएको राजसंस्था पक्षधरहरुकै तर्क छ । राजसंस्थाका पक्षमा आवाज उठिरहेका बेला दरबार हत्यकाण्डको पुनः छानबिनको विषय उठाउँदा यसले राजसंस्था पक्षधरहरुलाई अझ एक ढिक्का हुन मद्धत पुग्ने तर्क राजसंस्था पक्षधरहरुको छ ।

जबराको यो तर्कमा दम छ या छैन त्यो कुरा ती राजनीतिक दलका नेताहरुले जानून् जसले दरबार हत्याकाण्डको पुनः छानबिन गर्नुपर्ने आवाज उठाइरहेका छन् । त्यसो त राजनीतिक विश्लेषकहरु पनि दरबार हत्याकाण्डको पुनः छानबिनको विषय यो बेलामा आउनुले दलहरुप्रतिकै विश्वसनियतामा कमी आउन सक्ने अनुमान गर्छन । पूर्वराजासँग बदला लिने हतियारका रुपमा यसलाई प्रयोग गर्ने भन्दा पनि साँच्चै सत्यतथ्य छानबिनको नियत दलका नेताहरुमा हुने हो भने चाहिँ त्यसलाई अन्यथा मान्न नसकिएला । तर, दरबार हत्याकाण्डमा कहिले भारत त कहिले अलि परका देशलाई जोडेर हेर्ने दल र तीनका नेताहरुको नियतमाथि नैै प्रश्न उठाउने आधारहरु भने बग्रेल्ती छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार