
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन लागिएको हल्ला हिजो दिनभर चल्यो । केही मिडियामा उनी दोस्रो बरियताको उपसभापति बन्न लागेका समाचार आए । तर, त्यो हल्ला हल्लामै सिमित भएको छ । डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति नभई केन्द्रीय सदस्य मात्रै बनेका छन् ।
रवि लामिछानेपछि दोस्रो बरियतामा डा.स्वर्णिम वाग्लेलार्ई राख्ने र उनलाई बरिष्ठ उपसभापति बनाउने सहमति पहिल्यै भएको बताइएको थियो । रविपछिको नेता आफू हुने पक्कापक्की भएपछि डा.स्वर्णिम वाग्ले उतिबेला नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए । तर, रास्वपा प्रवेश गरेको लामो समय भइसक्दा पनि रवि लामिछानेले आफूलाई उपसभापति नबनाएको भन्दै उनी सभापति रवि लामिछानेसँग नै असन्तुष्ट बनेका थिए । त्यही असन्तुष्टीका बीचमा महोत्तरीमा बसेको पार्टीको बैठकमा लामिछानेले डा.वाग्लेलाई उपसभापति पदमा प्रस्ताव गर्ने धेरैको आंकलन थियो । तर, रवि लामिछानेले बैठकमा त्यो प्रस्ताव नै गरेनन् ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित गरेको छ । सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भएको थियो । प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन् । अब ती सबै सांसद रास्वपाको केन्द्रीय सदस्य बनेका छन् । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्ववस्था भएपनि रास्वपाको केन्द्रीय समितिमा १२१ जना पुगेका छैनन् ।