Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रविसँग दाजु पनि रिसाएकै हुन् ? किन आए यस्ता स्टाटस ?


रास्वपा सभापति रवि लामिछाने र उनका दाजु हरिशरण लामिछानेका बीचको सम्बन्धलाई लिएर बेला बखत विभिन्न चर्चा परिचर्चा हुने गर्दछ । अहिले फेरि दुई भाईको सम्बन्धको चर्चाले सामाजिक सञ्जाल तातिएको छ । वरिष्ठ सञ्चारकर्मी समेत रहेका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले बिहिबार साँझबाट सामाजिक सञ्जाल फेसबुकमा लगातार लेखेका केही स्टाटसले फेरि दाजुभाईको सम्बन्धमा दरार उत्पन्न भएको आंकलन यतिबेला धेरैले गरेका छन् । वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले पछिल्ला समयमा लेखेका ती स्टाटस उनका भाई समेत रहेका रास्वपा सभापति रवि लामिछाने केन्द्रित रहेको धेरैको बुझाई छ । रवि लामिछानेका दाजु हरिशरण लामिछानेले बिहिबार साँझ पहिलो स्टाटस लेखे : भाईको कुरा नगर है भाई मसँग माइन्ड योर वन बिजनेस ।
यो स्टाटस लेखेको केही बेरमा नै हरिशरण लामिछानेले फेरि अर्को स्टाटस लेखे : भुत्रा ८४ अहिले काम गर न ।

हरिशरण लामिछानेले दोस्रो स्टाटस लेखेको करिब २ घण्टापछि फेरि अर्को स्टाटस लेखे : म पनि यो देशको नागरिक हुँ, हेर्दै जाउ । यो स्टाटसमा विभिन्न व्यक्तिले विभिन्न कमेन्ट गरिरहँदा फेरि हरिशरणले अर्को स्टाटस ठोकिहाले । त्यसमा उनले लेखे ः नेता बन्नु पनि छैन ठूलो मान्छे बन्नु पनि छैन । म जे छु ठिकै छु । बिथोल्न नआउ ।
एकपछि अर्को गर्दै लगातार स्टाटस लेखेका हरिशरण लामिछानेका यी स्टाटसहरु उनका भाई तथा रास्वपा सभापति रवि लामिछाने केन्द्रित भएको धेरैको ठम्याई छ । यी स्टाटसमा धेरैले हरिशरण लामिछाने र रवि लामिछानेको सम्बन्धमा फेरि दरार आएको आंकलन गर्दै विभिन्न प्रकारका कमेन्ट गरेका छन् । कतिपयले भाई रवि लामिछानेको प्रगति देख्न नसकेर दाजु हरिशरण लामिछाने छटपटाएको आशयका कमेन्ट गरेका छन् भने कतिपयले स्टाटस भाई रवि लामिछाने केन्द्रित नहुन पनि सक्ने भनेका छन् । तर, हरिशरण लामिछानेको पहिलो स्टाटस नै भाईको कुरा नगर है बाट शुरु भएका कारण हरिशरण लामिछानेका ती स्टाटसहरु भाई रवि लामिछाने लक्षित भएको अनुमान लगाउँन सकिन्छ ।

त्यसो त रास्वपा सभापति रवि लामिछानेले टेलिभिजनको जागिर छाडेर अघिल्लो वर्ष राजनीतिमा हाम फाल्दा नै दुई भाईका बीचमा राम्रो सम्बन्ध नभएको आंकलन गर्न सक्ने प्रशस्तै आधारहरु देखिएका थिए । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा दाजु हरिशरण लामिछानेले त्यसको विरोध गरेका थिए । स्वतन्त्र भन्ने शब्द राखेर पार्टी खोल्दा स्वतन्त्र रुपमा उम्मेदवारी दिन चाहनेहरुमाथि अन्याय हुने भन्दै उनले रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न दिन नहुने बताएका थिए भने यो विषय अदालतमा पुग्दा पनि हरिशरण लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नामप्रति आपत्ति जनाउँदै रास्वपाको विरोधमा उत्रिएका थिए । वास्तविक स्वतन्त्र उम्मेदवारलाई अन्याय पर्नेगरी भाई रवि लामिछानेले पार्टीको नाम राखेको भन्दै उनी सहितका केही अभियन्ताहरुले पत्रकार सम्मेलन नै गरेका थिए । तर, पछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कानुनी मान्यता पाएपछि यो विषयमा हरिशरण लामिछानेले थप बोलेका थिएनन् ।

पार्टी घोषणाताका दाजुभाईको बिग्रिएको सम्बन्धलाई हेरेर कतिपयले चुनावमा समेत भाईका विरुद्धमा दाजु हरिशरण लामिछानेले उम्मेदवारी दिन सक्ने अनुमान गरेका थिए । तर, दाजु हरिशरण लामिछानेले उम्मेदवारी दिएनन् । बरु उनले चुनावी दौरानका क्रममा मौन बसेर भाईलाई एक प्रकारले सहयोग नै गरे । त्यसपछि राजनीतिक वृत्तमा दाजुभाईको सम्बन्ध सुध्रिएको चर्चा भयो ।

कतिपयले दाजु हरिशरण र भाई रविका बीच पार्टी घोषणाताकाको सम्बन्धलाई लिएर बोलचाल समेत नहोला भनेर सोचिरहेका बेला रवि लामिछानेले दशैंमा दाजु हरिशरण लामिछानेको हातबाट टीका लगाएको फोटो सार्वजनिक गरे । त्यसपछि तिहारमा पनि दाजुभाईले सँगै टिका लगाएको फोटो सार्वजनिक भयो । यसबाट दाजुभाईबीचको सम्बन्ध राम्रो नै रहेछ भन्ने धेरैेमा परेको थियो । तर, फेरि एकाएक दाजु हरिण्शरण लामिछानेको फेसबुकबाट धमाधम आशंकायुक्त स्टाटसहरु आउन थालेपछि भने दाजुभाईबीचको सम्बन्धमा दरार उत्पन्न भएको अनुमान गरिएको छ ।

राजनीतिक विचारका हिसाबले एउटै परिवारका सदस्यहरु फरक फरक पार्टीमा हुन सक्छन् । अरु त अरु बाउ छोरा नै अलग अलग पार्टीबाट उम्मेदवार बनेको , श्रीमान श्रीमतिकै पार्टी फरक फरक रहेको , दाजु भाईबीच चुनावमा कडा टक्कर परेको जस्ता समाचार चुनावी समयमा सार्वजनिक भएका थिए । त्यसैले रवि लामिछाने र हरिशरण लामिछानेबीच राजनीतिक द्धन्द हो भने त्यो त्यतिधेरै असामान्य होइन । तर, रवि लामिछाने र हरिशरण लामिछानेबीचको सम्बन्धलाई नजिकबाट हेरिरहेकाहरुका लागि भने यो चर्चाको विषय हो । फेरि दुबै दाजुभाई आ आफ्नो तबरले सार्वजनिक छबी बनाएका व्यक्तिहरु पनि हुन् । त्यसैले सार्वजनिक व्यक्तिहरुका फेसबुक स्टाटसहरुमाथिको बहस र अनुमान अस्वभाविक पनि होइन ।


प्रतिक्रिया दिनुहोस !
विचार