Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रास्वपामा भाँडभैलो, रविलाई चित्त बुझाउनै सकस


राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरी बैठकले पदाधिकारी सहित कुन पदमा कुन नेता भन्ने टुंगो लगाएपछि यो विषयले पार्टीभित्र भाँडभैलो शुरु भएको छ । रास्वपाले पार्टीका चर्चित दुई नेतृ तथा प्रत्यक्ष निर्वाचित सांसद डा.तोषिमा कार्की र सोविता गौतमलाई बेवास्ता गर्दै अन्य नेताहरुलाई पार्टी पदाधिकारी बनाएपछि यसले पार्टीभित्र असन्तुष्टी चुलिएको हो । नेतृ डा.तोषिमा कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत नै यसबारे असन्तुष्टी पोखेकी छिन् । उनले विधीको शासन भनेर प्रश्न वाचक चिन्ह तेस्र्याउदै लेखेको स्टाटसले पार्टीभित्रको असन्तुष्टी दर्शाएको धेरैको बुझाई छ । पार्टी सभापति रवि लामिछानेले आफ्नो खल्तीबाट मनलाग्दी तबरले पद बाँडेको भन्दै रास्वपाका केही नेताहरुले विभिन्न माध्यमबाट दुखेसो व्यक्त गरिरहँदा रास्वपा नेतृ तथा सांसद डा. तोषिमा कार्र्कीले भने सामाजिक सञ्जाल फेसबुकबाट नै अप्रत्यक्ष रुपमा रवि लामिछानेको कदमको विरोध गरेकी छिन् । पार्टी विधि र पद्धतिले भन्दा पनि नेताहरुको लहडमा चल्न थालेको रास्वपाकै केही नेताहरुले अनौपचारिक कुराकानीका क्रममा बताइरहँदा डा. तोषिमा कार्कीको यो स्टाटस आएको हो । डा.तोषिमा कार्कीले लेखेको पछिल्लो स्टाटस पार्टीभित्र शुरु भएको बेथितीप्रति नै लक्षित रहेको धेरैको बुझाई छ ।

रवि लामिछाने सञ्चारकर्मी रहेका बखत विभिन्न पार्टीमा राखिने बग्रेल्ती पदबारे उनले टेलिभिजनका पर्दाबाट प्रश्न उठाउने गर्थे । उनी भन्ने गर्थे : उप र सह जस्ता फुर्को जोडेर यी फलाना फलाना पार्टीले के गरेको ? पार्टीभित्र उपसभापति एक जना भए हुँदैन ? उनको आक्रोश हुने गथ्र्यो : यी सबै पदका भोकाहरु हु्न । यीनीहरुबाट देश बन्दैन ।

टेलिभिजनमा काम गर्दा अरुलाई पदका भोका भन्दै आक्रोश व्यक्त गर्ने रवि लामिछानेले यतिबेला आफ्नो पार्टीमा भने उपसभापति २ जना, सह महामन्त्री ३ जना, सह कोषाध्यक्ष २ जना र सह प्रवक्ता नै ३ जना राखेका छन् । अरु दलले आफ्नो पार्टीभित्रै यसैगरी विभिन्न पद सिर्जना गर्दा त्यसमा पद लोलुप्ता देख्ने लामिछानेले यतिबेला आफ्नो दलभित्र चाहिँ उपरीमाथि थुपरी भने झैं पद नै पद बाँडेका छन् । हो, यही विषयले रवि लामिछानेको पार्टीभित्र उनको बोली र व्यवहारलाई लिएर असन्तुष्टी शुरु भएको छ । कतिले व्यक्त गर्ने हिम्मत गरेका छन् त कतिले चाहिँ यी र यस्ता विषयमा बोल्नु भनेको रास्वपामा आफ्नो राजनीति नै सक्काउनु हो भनेर चुपचाप बसेका छन् । रविसँग जोरी खोज्दा भोलिको राजनीतिक बाटो नै समाप्त हुने भयले पनि धेरैले बोल्ने हिम्मत गरेका छैनन् ।

पार्टीमा प्रवक्ता हुँदाहुँदै तीन तीन जनालाई सह प्रवक्ता किन बनाएको होला ? ल एकजना सम्म सह प्रवक्ता ठिकै होला रे । तीन तीन जना सह प्रवक्ताको काम चाहिँ के ? अनि कोषाध्यक्ष हुँदाहुँदै दुई दुई जना सह कोषाध्यक्ष के का लागि ? त्यस्तै महामन्त्री हुँदाहुँदै एक जना सहमहामन्त्री सम्म ठिकै हुन्थ्यो होला रे । तर, तीन तीन जना सहमहामन्त्रीको काम चाहिँ के ? यसको सिधा जवाफ हो : सबैजनालाई पद चाहिएको छ र, त्यो नबाँडे पार्टीमा भूकम्प जान्छ ।

वैकल्पिक र सुसंस्कृति राजनीतिको नारा दिएर उदाएको पार्टीको ताल पनि अन्य दलहरुको जस्तै भएपछि जनताले प्रश्न गर्नु अनि पार्टीभित्र केही नेताहरुले असन्तुष्टी व्यक्त गर्नु नौलो कुरा होइन । अरु पार्टीले पदीय भागबण्डा मिलाउँनकै लागि तीन चार जनालाई सह र उपको फुर्को लगाएर पद बाँड्दा यो त अति भयो भन्ने रवि लामिछानेले आफ्नै पार्टीभित्र चाहिँ त्यस्तो गर्न सायद सुहाउँदैन थियो होला । रविको दल पनि अरु दल जस्तै भएपछि नयाँ र पुरानामा फरक के नै रहयो र ?


प्रतिक्रिया दिनुहोस !
विचार