
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले फेटा बाँध्दै रामनामी ओढेर कुनै मन्दिरको ढोकामै खिचाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यो फोटोबारे अनेक प्रकारका टिका टिप्पणी र प्रतिकृया आइरहेका छन् । एकातिर धर्मलाई अफिम भन्ने र अर्कातिर मन्दिर दर्शन गरेर फोटो सार्वजनिक गर्ने कम्युनिष्ट नेताहरुको यो कस्तो चरित्र हो भन्दै सामाजिक सञ्जालमा धेरैले यसबारे कमेन्ट गरेका छन् ।
पछिल्लो समयमा एआईले बनाएका फोटोहरुको बिगबिगी सामाजिक सञ्जालमा भइरहेका कारण फेटा र रामनामीको भेषमा देखिएका एमाले अध्यक्ष केपी शर्मा अोली , उपाध्यक्ष विष्णु पौडेल र सुरेन्द्र पाण्डेको त्यो फोटोे पनि वास्तविक होइन होला भनियो । एमालेकै केही नेता कार्यकर्ताहरुले फेक फोटो भएको दाबी पनि गरे । तर, जब एमालेका नेता झपट रावलकोे फेसबुक पेजमा पनि यो फोटो सार्वजनिक भएको देखियो त्यसपछि भने फोटो वास्तविक नै हो भन्न अप्ठ्यारो भएन ।
नेकपा एमाले गएको १४ गतेदेखि अहिले मध्य पहाडी लोकमार्ग अभियानमा छ । झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा नामको विशेष अभियान एमालेले सञ्चालन गरिरहेको छ । तर, यो अभियान राजनीतिक अभियान भन्दा पनि एमाले नेताहरुको तिर्थाटन जस्तो देखिएको छ । एमाले नेताहरु राजनीतिक अभियानमा भन्दा पनि तिर्थयात्रामा निस्किए जस्ता देखिएका छन् । हुन त मन्दिर दर्शन गर्नु , रामनामी ओढ्नु, फेटा बाध्नु, पूजापाठ गर्नु राम्रो कुरा हो । तर, धर्मलाई अफिम भन्ने कम्युनिष्ट नेताहरुका हकमा चाहिँ धेरैले यसलाई भोटको राजनीतिका रुपमा लिएका छन् । त्यहीभएर होला सामाजिक सञ्जालमा यो फोटो पोष्ट गर्दै केहीले लेखेका छन्, यो नौटंकीको हद भयो । अनि कतिपयले चाहिँ नेताहरुलाई मन्दिर, कुटी र पाटीपौवा नै सुहाउने भन्दै कुनै मन्दिरको पुजारी बस्न सुझाव दिएका छन् ।
त्यसो त कुनैबेला चितवनमा राम मन्दिर बनाएर केपी शर्मा ओलीलाई मन्दिरको पुजारी बनाइदिने बताएका नेता सुरेन्द्र पाण्डे पनि पछिल्लो पटक भाइरल भएको फोटोमा ओलीकै साइडमा रामनामी ओढेर उभिएका छन् । नेकपा कालमा प्रचण्ड– माधव नेपाल समुहमा रहेका सुरेन्द्र पाण्डे उतिबेला ओलीका कडा आलोचक थिए । प्रधानमन्त्री रहेका बेला केपी शर्मा अोलीले चितवनको एक कार्यक्रममा गएर खोई त तपाईहरुका तीन तीन जना सांसदले चितवनमा एउटा मन्दिर सम्म त बनाउँन सकेनन् भनेका थिए । ओलीको त्यही अभिव्यक्तिमा टिप्पणी गर्दै सुरेन्द्र पाण्डेले चितवनमै आयोजित एक सभालाई सम्बोधन गर्दै भनेका थिए, ओलीजीलाई चितवनको माडीमा राम मन्दिर नबनाएको भनेर धेरै चिन्ता परेछ । आजकाल उहाँको धर्मकर्ममा पनि खुबै चासो छ क्यारे, हामी चितवनमा सांसदहरु मिलेर माडीमा राम मन्दिर बनाउन सहयोग गर्छौं र ओलीजीलाई त्यही मन्दिरको पुजारी बस्न प्रस्ताव गर्छौं ।
सुरेन्द्र पाण्डेले तत्कालिन समयमा ओलीमाथि यो कटाक्ष गर्नुको कारण कम्युनिष्ट नेताले मन्दिरको विषय उठाइरहे भनेरै थियो । अनि ओलीसँग सम्बन्ध बिग्रिएको झोक पनि थियो सुरेन्द्र पाण्डेलाई । कम्युनिष्टले मन्दिर, धर्म जस्ता कुरा गरिरहन नहुने उनको तर्क थियो । तर, तीनै सुरेन्द्र पाण्डे अहिले तिर्थाटनको शैलीमा रामनामी ओढेर ओलीका अघिपछि लागिरहेका छन् । ओलीले राम मन्दिरको कुरा गर्दा ओलीमाथि व्यंग्य गर्दै ओलीलाई राममन्दिरको पुजारी बनाइदिने बताएका पाण्डे अहिले आफैं राजनीतिका लागि रामनामीको सहारा लिइरहेका छन् ।
हुन त नेपालका कम्युनिष्ट नेताहरुका दुःख सामान्य छैनन् । राजनीतिका लागि ठाउँ अनुसार कुरा गरिदिनुपर्ने बाध्यता छ उनीहरुलाई । धर्मलाई अफिम भन्दा मान्छेहरु आफूतिर आउलान् जस्तो लाग्यो भने उनीहरु धर्म अफिम हो, मन्दिर पूजा रुढीवादी हो भन्दिन्छन् । अनि धर्मको कुरा गर्दा चाहिँ मान्छेहरु आफूहरुतिर तानिएलान् जस्तो लाग्यो भने विद्धान पण्डितहरुभन्दा पनि अघि सरेर धर्मकर्मबारे पुराण छाँट्छन् ।
राजनीतिका लागि ठाउँ अनुसारको भेष बदल्न खप्पिस कम्युनिष्ट नेताहरुका विषयमा कुरा गर्दा एमाले नेताहरुका बारेमा मात्रै भनियो भने ठिक नहोला । कोही भन्दा कोही कमी छैनन् यहाँ । प्रचण्डको भैंसी पूजादेखि लिएर महाकालेश्वर मन्दिरको दर्शन सम्मका कुरालाई ढोंगको उपल्लो रुप भनेर आरोप लगाउँनेहरु प्रशस्तै छन् । होली वाइनदेखि रामनामी सम्मका पहिरनको चर्चाले सामाजिक सञ्जाल छ्याप्पै भइरहँदा उनीहरुका प्रतिकृया भने यसबारे आएका छैनन् ।
२०८४ आउन अझै केही वर्ष बाँकी छ । तर, यतिबेला धेरैको चासो चाहिँ के मा छ भने, अहिले रामनामी ओढेका कम्युनिष्ट नेताहरु ०८४ मा पुग्दा कस्ता बन्लान् र कस्तो रुपमा देखिएलान् ?