Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रवि लामिछानेको भन्दा दुर्गा प्रसाईको भिजन देखियो : हर्क साम्पाङ


धरानका मेयर हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेसँग भन्दा दुर्गा प्रसाईसँग भिजन देखिएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने मलेसिया भ्रमणमा रहिरहेका बेला मेयर साम्पाङले यस्तो बताएका हुन् । रवि लामिछानेले भन्दा भ्रष्टाचार विरुद्ध दुर्गा प्रसाईले बोलिरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले लेखेका छन् : दुर्गा प्रसाइँले विदेशिएका युवा नेपाल फर्काउँछु भन्दै थे ।रवी लामिछाने जीले पनि मलेशिया गएर युवा फर्काउँछु भनेछन् । झोला बोकाउने त होला नि योजना । अरु त केही भिजन देखिएन । फर्केर युवाले के गर्ने रु कसरी पेट र परिवार पाल्ने रु खोइ योजना रु बरु दुर्गा प्रसाइँले भ्रष्टाचार विरुद्ध बोलिरहेका छन् । रवी जी त त्यो पनि बोल्न सक्दैनन् ।
सामाजिक सञ्जालमा ह्वारह्वारती स्टाटस लेख्न बानी परेका साम्पाङले यो स्टाटस लेख्नुभन्दा अघि रवि लामिछानेहरुभन्दा अमरेशकुमार धेरै ठिक भएको उल्लेख गरेका थिए । अमरेश कुमारको प्रशंसा गर्दै साम्पाङले लेखेका थिए : अहिले संसदमा कोही जिउँदो साम्सद छन् त त्यो अमरेस कुमार सिंह मात्रै हुन् । रा स्व पा भन्ने दल त ८४ साल पछि मात्रै बोल्ने हो । सायद सरकारमा जाने सहमतिले गर्दा होला बोल्न नमिलेको । कुनै आशा नगरौँ । कान चिरेका चिम्टा र कमान्डलु भिडेकाहरु देखि ।

रवि लामिछाने नेतृत्वको दलले मिसन ०८४ भनेर अभियान चलाइरहेका बखत धरानका मेयर हर्क साम्पाङले रास्वपालाई कान चिरेका चिम्टा र कमण्डलुहरु भन्दै दिएको यो अभिव्यक्तिकाप्रति उनको स्टाटसमा धेरैले समर्थन जनाउँदै कमेन्ट गरेका छन् भने केहीले लामिछानेको खुट्टा तान्नँ हर्क साम्पाङ पनि लागिपरेको आरोप लगाएका छन् । हर्क साम्पाङका स्टाटसहरु अर्थहिन भएको भन्दै केहीले रवि लामिछानेको प्रगति देख्न नसकेर हर्क साम्पाङ बरबराउन थालेको भन्दै कडा आरोप लगाएका छन् । हर्क साम्पाङको उक्त स्टाटसमा केहीले भने गुड लक रवि दाई लेख्न पनि भ्याएका छन् । दुर्गा प्रसाई जिन्दावाद भन्दै कमेन्ट गर्नेहरु पनि हर्क साम्पाङको उक्त स्टाटसमा प्रशस्तै देखिएका छन् ।
कतिपयले भने दुर्गा प्रसाई र अमरेशकुमारसँग मिलेर दल खोल्न हर्क साम्पाङलाई सुझाव दिएका छन् । हर्क साम्पाङले दल खोल्ने हो भने आफूहरु आँखा चिम्लेर साम्पाङका पछि लाग्छौं भन्नेहरु पनि हर्क साम्पाङको फेसबुक स्टाटसमा देखिएका छन् । हर्क साम्पाङलाई गाली गर्ने र समर्थन गर्ने दुबै पक्षको जुहारी हर्क साम्पाङको फेसबुक स्टाटसमा चलेको छ ।

हर्क साम्पाङ रवि लामिछानेका विरुद्ध देखिनु दुःखको कुरा भएको भन्दै कतिपयले आफूले लेखेको स्टाटस सच्याउन पनि हर्क साम्पाङलाई सुझाव दिएका छन् । यसैबीच हर्क साम्पाङले सामाजिक सञ्जालमा रवि लामिछाने र रास्वपाको विरोध गर्दै लेखेको स्टाटसको कुनै तुक नभएको रास्वपाका केही नेताहरुले बताएका छन् । हर्क साम्पाङको स्टाटस सार्वजनिक भएपछि आजको प्रेसले रास्वपाका केही नेताहरुसँग यसबारे प्रतिकृया दिनका लागि सम्पर्क गरेको थियो । तर, रास्वपाका नेताहरुले हर्क साम्पाङ जस्तो अस्थिर व्यक्तिका स्टाटसकाप्रति प्रतिकृया जनाएर बस्ने फुर्सद आफूहरुलाई नभएको बताए । रास्वपाका एक नेताले भने : दिनमै बीस वटा स्टाटस लेखेर बस्ने हर्क साम्पाङका स्टाटसका पछि दगुर्ने फुर्सद हामीहरुलाई छैन । आफूहरुलाई ठूला दलहरुले भन्दा पनि नयाँ र स्वतन्त्र भनिएकाहरुले खेदो खनिरहेको भन्दै उनले भने : जति खेदो खनिन्छ हामी त्यतिकै बलियो भएर निस्किन्छौं । २०८४ को चुनावमा रास्वपा ठूलो दल बन्ला कि भन्ने पिरले स्वतन्त्र भनिएका व्यक्तिहरुलाई पिरोलिरहेको उनको आरोप थियो ।
रास्वपाको क्रेज देखेर रास्वपालाई ध्वस्त पार्ने डिजाइनमा केही व्यक्तिहरु लागिपरेको भन्दै रास्वपाका अर्का नेताले ती व्यक्तिहरुलाई जनताले साइड लगाइदिने दाबी गरे । रास्वपाको बदनाम गर्न केही व्यक्तिहरुलाई भने ठूला दलहरुले नै खटाएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार