Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रास्वपा फुटको हल्लाबारे बोलिन् डा.तोषिमा कार्की


रास्वपा फुटको हल्ला चलिरहेका बेला रास्वपाकी नेतृ तथा सांसद डा.तोषिमा कार्कीले यसबारे मुख खोलेकी छिन् । रास्वपाले पदाधिकारी सहितका नेताहरुको नाम टुंगो लगाएको भोलिपल्टबाटै केही सञ्चार माध्यममा रास्वपा फुट्न लागेको खबर सार्वजनिक भएको थियो ।

विशेषगरी रास्वपा नेतृ तथा सांसदा डा.तोषिमा कार्की, सांसद सोविता गौतम लगाएतका क्षमतावान व्यक्तिहरुलाई सभापति रवि लामिछानेले पदाधिकारीमा नसमेटेको भन्दै रास्वपाभित्र असन्तुष्टी चुलिएको र त्यसले पार्टीलाई फुटको दिशातर्फ धकेलेको खबरले राजनीतिक वृत्तमा चर्चा पाएको थियो । त्यही बीचमा रास्वपा नेतृ तथा सांसद डा. तोषिमा कार्कीले सामाजिक सञ्जाल फेसबुकमा विधिको शासन भन्दै प्रश्न वाचक चिन्ह सहितको स्टाटस लेखेपछि धेरैले यसैलाई आधार मानेर रास्वपामा व्यापक असन्तुष्टी रहेको र फुटको हल्लामा सत्यता भएको हुन सक्ने आंकलन गरेका थिए । तर, आज बिहानै सांसद डा. तोषिमा कार्कीले फेसबुकमा नै एक स्टाटस लेख्दै रास्वपालाई कुनै हालतमा फुट्न नदिने बताएकी छिन् । पार्टीे फुटको कल्पना पनि गर्न नसकिने बताउँदै साना लक्ष्यले आफूहरु जुटेको नभई आफूहरुको छाती र मुटु पनि ठूलो भएको उनले बताएकी छिन् । २०८४ मा घण्टी बजाएरै छाड्ने र देश बनाएरै छाड्ने अठोट आफूहरुमा रहेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् :
के रे के रे ? फुट्ने रे ?
कल्पना पनि नगर्नुस्, हुँदैन हामी त्यसो हुनै दिदैनम् ।
साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!
चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ्र जनताले देश भित्रै सम्भावना र समृद्दी देख्न पाउनै पर्छ्र साना दौडमा हिँड्या होईनौ, देश बनाउन हिँड्या हौँ,
देश बनाउन !! ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौं, त्यसैले कोशिस नगर्नुस्, सक्नुहुन्न सक्दै त सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ्र चौरासीमै बज्छ्र बरु आउनुस् तपाईहरु पनि यो महाअभियानमा नछुट्नस् ।
सांसद डा. कार्कीले यसअघि आफूले लेखेको स्टाटसलाई आधार मानेर पार्टी फुटाउन लागेको भन्ने सम्मका हल्ला चलाएकोप्रति असन्तुष्टी व्यक्त गर्दै यसबारे प्रष्टिकरण पनि दिएकी छिन् । उनले विधिको शासन भन्दै प्रश्न वाचक चिन्ह सहितको स्टाटस लेखेपछि डा. तोषिमा कार्की पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको रुपमा धेरैले व्याख्या गरेका थिए । तर, डा.कार्कीले आफ्नो उक्त स्टाटस पार्टी नेतृत्वप्रति लक्षित नभएको आशय व्यक्त गर्दै देशको सुशासनका विषयमा आफूले बोलेको उल्लेख गरेकी छिन् । उनले फेसबुक स्टाटसमा लेखेकी छिन् : विधीको शासन ? ए ए, सबैले आ–आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ ! विधीको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन, न्यायलयमै छैन !! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौ ।

उनले लेखेको यो स्टाटसमा धेरैले उनको समर्थन गर्दै मान्छेहरुले जथाभावी पार्टी फुटको हल्ला चलाएकोमा आक्रोश पनि व्यक्त गरेका छन् । भन्न खोजेको एउटा हुन्छ अनि व्याख्या आफ्नै तबरले गरिन्छ यो त अति भएन र भन्दै केहीले अति जान्ने सुन्नेहरुका कारण देश बिग्रिएको टिप्प्णी पनि गरेका छन् । यता डा.तोषिमा कार्कीको पछिल्लो स्टाटसमा केहीले भने डा. कार्की आफैंले दोहोरो अर्थ लाग्ने प्रकारको स्टाटस लेखेका कारण मान्छेहरुले आफ्नो बुद्धि अनुसार व्याख्या गर्नु अनौठो नभएको उल्लेख गरेका छन् । उनीहरुले सांसद डा. कार्कीलाई स्टाटस लेख्दा दोहोरो अर्थ लाग्नेगरी नलेख्न र नेता भएपछि कुरा चपाएर नबोल्न सुझाव पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार