Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

एकाबिहानै औषधी पसलेहरुलाई बालेनको चेतावनी


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि आक्रामक रुपमा प्रस्तुत भएका छन् । अघिल्लो वर्ष डोजर अभियान झैं गरी काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउँन लागिपरेका मेयर बालेन अब काठमाडौंका औषधी पसलहरुमाथि कडा रुपमा प्रस्तुत हुन लागेका हुन् ।

बुधबार विहानै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेन शाहले मंसिर २९ गतेभित्र नियमानुसार दर्ता नगरी तथा चिकित्सकको प्रेस्किप्सनबिना औषधीको कारोबार गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले महानगरपालिकाको निर्देशन अवज्ञा गर्दै जनताको स्वास्थ्यमा खेलबाड गरिए त्यस्ता औषधी पसलहरु बन्द गराई थप कारबाही गर्ने भनेका छन् ।

मेयर बालेन शाहको यो चेतावनीपछि काठमाडौंका औषधी पसल सञ्चालकहरु तरंगित भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेन शाहले लेखेको स्टाटसको पूर्ण पाठ यस्तो छ :

हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौ । यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाइहरूलाई थाहा नै छ । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ ।
काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ ।
यसका साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौ । त्यसैले हामीले यही महिनाको २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौ ।
अतः माथि उल्लेख भए अनुसारको समय भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्ने सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौ ।
यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क मार्फत महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौ ।


प्रतिक्रिया दिनुहोस !
विचार