Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी सहित ६ जना रिहा


नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका ६ जना रिहा भएका छन् । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी सहित ६ जना रिहा भएका हुन् ।

उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । यसअघि नै धरौटीमा छाड्न आदेश दिइएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने अझै थुनामै छन् । १५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएका नेता रिजालले धरौटी रकम नबुझाएका कारण उनी थुनामै रहेका हुन् । १५ लाख रुपैंयाँ बुुझाउन सक्ने हैसियत आफ्नो नभएको उनले जेलरसँग बताएका छन् ।

धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके मध्येका ३ जनालाई नख्खु कारागारमा सरुवा गरिएको छ । सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलरले जानकारी दिएका छन् ।

भण्डारी र दुलाललाई केही समयअघि नै सरुवा गरिएको थियो । उच्च अदालतले पुर्पक्षमा नै राख्न आदेश गरेपछि शर्मालाई पनि नख्खु चलान गरिएको हो । असार १ गते जिल्ला अदालत काठमाडौँले १६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार