Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

दुर्गा प्रसाई र डा.शेखर कोइरालाको एउटै स्वर : बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी


नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला बैंकहरुमाथि दुर्गा प्रसाईकै शैलीमा प्रस्तुत भएका छन् । दुर्गा प्रसाईले अहिलेका बैंकहरुलाई सबैभन्दा ठूला मिटरब्याजी भन्दै आन्दोलन नै गरिरहेका बेला कांग्रेस नेता डा.कोइरालाले पनि बैंकहरुलाई सबैभन्दा ठूला मिटरब्याजी भनेका हुन् ।

बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको भन्दै उनले बैंकहरुको मारमा जनता परेको बताएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’ देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहँदा समेत त्यसले बैंकहरुलाई छोएको नदेखिएको उनको भनाई थियो । उनले भने, ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?

दुर्गा प्रसाईले यही कुरा निकै समय पहिलेदेखि गर्दै आइरहेका छन् । प्रसाईले भन्दै आएको यो कुरालाई अहिले ठूला दलका नेताहरुले समेत पछ्याउने गरेको देखिएको छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर काम गरेका धेरै व्यवसायीहरु बैंकको चर्को व्याजबाट आफूहरु प्रताडित भएको भन्दै अहिले दुर्गा प्रसाईको आन्दोलनमा सामेल भइरहेका बेला अन्य दलका नेताहरुले समेत बैंक तथा वित्तिय संस्थाबाट सर्वसाधारण ठगिएको भन्दै आवाज उठाउन थलोका हुन् ।

कतिपय राजनीतिक दलका नेताहरुले दुर्गा प्रसाईले उठाएका माग जायज देखिएको भन्दै अनौपचारिक कुराकानीका क्रममा भन्ने गरेपनि खुला रुपमा भने भनेका छैनन् । बैंकहरु देशका ठूला मिटरब्याजी भएको आरोप दुर्गा प्रसाईले उठाइरहँदा केहीले भने प्रसाईमाथि नै वित्तिय अराजकता निम्त्याउन लागिपरेको आरोप समेत लगाएका छन् ।

तर, पछिल्लो पटक अन्य दलका नेताहरु समेत दुर्गा प्रसाईकै शैलीमा बैंकहरुलाई सबैभन्दा ठूला मिटरब्याजी भन्दै खनिन थालेका छन् । शनिबार बैंकहरु देशका ठूला मिटरब्याजी भएको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप लगाए । डा. कोइरालाले भने, ‘तपाईंहरु जानुस, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ एउटा सामान्य मान्छेले म केही गर्छु भनेर बैंकमा ऋण लिन गयो भने उसलाई बैंकले १०÷२० लाख पनि नदिने तर, कुकै अरबपतिले म कृषिमा लगानी गर्छु भन्दै ५० लाख, १ करोड या त्यो भन्दा माथि जति मागे पनि दिने गरेको डा. कोइरालाको भनाई थियो ।

फरक सन्दर्भमा कांग्रेस नेता डा. कोइरालाले अहिले देशको अवस्था बिग्रनुमा दलहरु नै दोषी भएको बताए । पूर्वराजा या अरु कोही कसैलाई दोष दिएर उम्कने अवस्था नभएको भन्दै उनले दलहरुले काम गर्न नसकेको दोष अरुलाई दिन नहुने बताए । उनले भने, काम हामी आफू गर्न नसक्ने अनि दोष चाहिँ अरुलाई दिँदा सुहाउँदैन । कम्युनिष्टसँगको गठबन्धन कांग्रेसलाई नफाप्ने भन्दै उनले गठबन्धन गरेरै अघि बढे कांग्रेस सिद्दिने बताए । कांग्रेस सिध्याउने बाहेक कम्युनिष्टसँगको गठबन्धनको अर्को कुनै काम छैन, डा.कोइरालाले भने, अब आउँदो चुनावमा कांग्रेस कोही कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार