Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

अस्पतालबाटै दुर्गा प्रसाइको सन्देश : म उपचारपछि फेरि आउँछु


क्यान्सर रोगबाट पीडित अभियन्ता दुर्गा प्रसाईले आफू सबै रोगलाई जितेर केहीदिनपछि पुनः मैदानमा आउने बताएका छन् । झापास्थित आफ्नै बिएण्डसी अस्पतालमा घाँटीको अपरेसनका लागि अपरेसन थिएटरमा प्रवेश गर्नुअघि प्रसाईले आफू क्यान्सरलाई जितेर केहीदिनपछि पुनः आन्दोलनमा आउने बताएका हुन् । आफू निकटका एक सहयोगीमार्फत उनले क्यान्सर जितेपछिको आफ्नो जीवन देशका लागि अर्पण गर्ने यसअघि नै आफूले अठोट गरेको बताएका हुन् । आफ्ना लागि गर्नुपर्ने अब केही नरहेको भन्दै उनले देश र जनताकै लागि आफूले बाँकी जीवन अर्पण गर्ने अठोट गरेको बताएको प्रसाईका सहयोगीले बताए ।

ती सहयोगीका अनुसार अपरेसनका लागि अस्पतालमा भर्ना भएका प्रसाईले अस्पतालको बेडबाटै सबैजनालाई उच्च मनोबलका साथ आन्दोलनको तयारी गर्न आग्रह गरेका छन् । केही मिडिया र आफ्ना विरोधीहरुले आन्दोलनबाट भागेको रुपमा आफूलाई प्रस्तुत गरेको भन्दै उनले ती सबैलाई अस्पतालबाट डिस्चार्ज भएपछि जवाफ दिने बताएका छन् । उनले आफू अस्पतालमा रहेका बेला आफू निकटका व्यक्तिहरुलाई मनोबल उच्च बनाएर विभिन्न काममा लाग्न निर्देशन समेत दिएका छन् ।

प्रसाई अस्पतालमा भएका बेला प्रसाईका सहयोगीहरुले विभिन्न जिल्लामा अभियान विस्तार गरिरहेका छन् भने प्रसाई नेतृत्वको अभियानका विभिन्न विभागहरु समेत अहिले धमाधम खुल्न थालेका छन् । यातायात विभाग, युवा उद्यमी विभाग, महिला विभाग, बुद्धिजीवी विभाग, सहकारी पीडित विभाग लगाएतका ४० भन्दा बढी विभाग केहीदिनमा गठन हुने प्रसाईका ती सहयोगीले बताए । अहिले काठमाडौंको कोटेश्वरस्थित प्रसाईको सचिवालयले दिनहुँ विभिन्न व्यक्ति र समुहहरुसँग भेट गरिरहेको छ । दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज भए लगत्तै राजसंस्था पक्षधर विभिन्न पार्टी र समुहहरुसँगको औपचारिक भेटघाटलाई पनि तिब्रता दिने तयारी रहेको बुझिएको छ । क्यान्सर जस्तो डरलाग्दो रोगबाट ग्रसित भएका बेलामा समेत प्रसाईले लिएको आँटबाट आफूहरु उत्साहित भएको ती सहयोगीको भनाई छ । दिनदिनै मुठीका मुठी औषधी खानुपर्ने अवस्थामा समेत दुर्गा प्रसाईको आँट देखेर आफू प्रभावित भएको उनले बताए ।

यता पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले आन्दोलनका लागि एक अर्ब रुपैंयाँ मागेको र पूर्वराजासँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर केहीले हल्ला चलाएको कुरामा सत्यता नरहेको भन्दै उनले आफू अस्पताल भएका बेलामा पनि विभिन्न प्रकारका हल्ला चल्न सक्ने भन्दै त्यसमा सतर्क रहन उनले आग्रह गरेका छन् । आफू निकटकासँग उनले भनेका छन् ः जसरी हुन्छ ठूला दल र तीनका नेताहरु हाम्रो बदनामी गर्न चाहन्छन् । हामीलाई नराम्रो देखाएर उनीहरु आफू राम्रो देखिन चाहन्छन् । अहिले हाम्रो आन्दोलनबाट उनीहरु आत्तिएका छन् । केहीदिन केही मिडियाले दुर्गा प्रसाईको आन्दोलनमा मान्छे आएनन्् भन्दा उनीहरु खुसीले उफ्रिएका थिए ।

अस्पतालको बसाई सकेपछि १५÷२० दिन व्यापक तयारी गरेर आन्दोलनमा उत्रनेगरी आफूहरुबीच सल्लाह भइरहेको दुर्गा प्रसाईका सहयोगीले बताए । फागुन १ बाट गर्ने आन्दोलन निर्णायक हुने उनको भनाई थियो । माओवादीले शसष्त्र युद्ध शुरु गरेकै दिन पारेर फेरि दुर्गा प्रसाई नेतृत्वको अभियानले आन्दोलन गर्ने भएपछि दुर्गा प्रसाई र माओवादीका बीचमा थप तनाब उत्पन्न हुने देखिएको छ । गएको मंसिर ७ का दिन दुर्गा प्रसाई नेतृत्वको अभियानले आन्दोलनको घोषणा गरेकै दिन एमालेको युवा संघले पनि काठमाडौंमा शक्ति प्रदर्शनको आयोजना गरेको थियो भने उक्त दिन दुबै समुहले एकै ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा निषेधित क्षेत्र नै घोषणा गरेको थियो । फागुन १ मा पनि माओवादीले शसष्त्र युद्ध शुरु भएको सन्दर्भ पारेर विभिन्न कार्यक्रम गर्ने तयारी गरेको सुनिएको छ भने दुर्गा प्रसाई नेतृत्वको अभियानले पनि सोही दिनबाट फेरि आन्दोलन गर्दैछ । दुर्गा प्रसाई नेतृत्वको अभियान र माओवादीको एकैदिन कार्यक्रम हुने भएपछि फागुन १ को आसपास पारेर फेरि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्य केही स्थानमा निषेधित क्षेत्र घोषणा गर्ने आंकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार