
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको खबरले यतिबेला माओवादी पार्टी पंक्ति र पार्टी बाहिर नयाँ तरंग सिर्जना गरेको छ । प्रधानमन्त्री प्रचण्डका निकट मानिने हरिबोल गजुरेलले प्रधानमन्त्रीसँगै असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिएको केहीले बताइरहेका छन् । प्रधानमन्त्रीसँगको सल्लाहमा नै राजीनामा दिएको भए मंसिर २० गते दिइएको भनिएको राजीनामा आजसम्म स्वीकृत भइसक्ने उनीहरुको भनाई छ ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेल प्रधानमन्त्री प्रचण्डसँग किन असन्तुष्ट बने भन्ने विषय यतिबेला धेरैका लागि चासोको विषय बनेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरी गंगा दाहाललाई चाहिने भन्दा बढी स्पेस दिएको भन्दै गजुरेल प्रधानमन्त्री प्रचण्डसँग केही समय पहिलेदेखि नै असन्तुष्ट रहेको बुझिएको छ । राजनीतिक नियुक्ति सरुवा र बढुवा साथै विभिन्न व्यक्तिसँगको भेटघाटको चाँजोपाँजो मिलाउँने काममा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल हावी हुने गरेको भन्दै हरिबोल गजुरेलले आफू निकटकासँग गुनासो गर्ने गरेका थिए ।
सल्लाहकार र सचिवालयको टिम ठूलो भएपनि प्रधानमन्त्री प्रचण्डले तीन चार जना भन्दा बढीलाई गन्ने नगरेको उनको गुनासो थियो । केही नियुक्ति र सिफारिसहरुमा आफूले भनेको कुरा शुरुमा प्रचण्डले हुन्छ भने जस्तो गरेपनि पछि नमानेपछि हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डसँग बिच्किएका थिए । त्यहीभएर उनले गएको कार्तिकदेखि नै गोजीमा राजीनामा बोकेर हिँडेको उनी निकटका एक व्यक्तिले जानकारी दिए । तर, प्रधानमन्त्रीको सल्लाहकार बनेको छोटो अवधिमा नै राजीनामा दिँदा त्यसले आफ्नाबारे पार्टीभित्र नकारात्मक धारणा बन्ने बुझाईका साथ गजुरेलले राजीनामा दिएका थिएनन् ।
गजुरेलले राजीनामा दिनुको कारणबारे सार्वजनिक रुपमा केही बताएका छैनन् । गजुरेलले आफूले २० गते नै राजीनामा दिइसकेको स्विकार गरेपनि राजीनामा दिनुको कारणबारे भने अहिले नभन्ने बताएका छन् । समय आएपछि यसबारे भन्ने उनको भनाई छ । आफ्नो राजीनामा अरु विषयले भन्दा पनि नीतिगत कुराका कारण भएको उनको भनाई छ । तर, नीतिगत कुरा भनेको के हो भन्ने विषयमा उनले खुलाएका छैनन् ।
यता प्रधानमन्त्री प्रचण्ड निकटका नेताहरुले भने गजुरेलले राम्रोसँग काम गर्न नसकेपछि राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्रीले भने अनुसारको काम गर्न नसकेपछि आफैं लाजले राजीनामा दिएको उनीहरुको भनाई छ ।
पार्टीमा आफूहरुभन्दा जुनियरहरुलाई प्रधानमन्त्रीले सचिवालयका नाममा काखी च्याप्न थालेपछि र आफ्ना सल्लाहकारलाई बेवास्ता गर्न थालेपछि उनी प्रधानमन्त्रीसँग चिढिएको केहीले बताइरहँदा गजुरेल निकटकै व्यक्तिहरुले भने राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिनेगरी प्रधानमन्त्रीकै सल्लाहमा उनले राजीनामा दिएको बताएका छन् । तर, प्रधानमन्त्रीकै सल्लाहमा राजीनामा आएको भए राजीनामा किन यतिका दिनसम्म स्विकृत भएन भन्ने कुरा चाहिँ सोचनीय छ । त्यसैले पनि प्रधानमन्त्रीसँगको सल्लाहमा भन्दा पनि प्रधानमन्त्रीसँगको असन्तुष्टीकै कारण गजुरेलले राजीनामा दिएको बुझन् सकिन्छ । हरिबोल गजुरेल यसअघि मन्त्री पनि भइसकेका व्यक्ति हुन् । उनी कृषि मन्त्री भएका बेला गमलामा धान रोपेर चर्चामा आएका थिए । माओवादी पार्टीमा पनि उनी पदाधिकारी छन् । तर, पूर्व मन्त्री र माओवादीको पदाधिकारी रहिसकेको मान्छेलाई प्रधानमन्त्रीले पछिल्लो समयमा गन्नै छाडेपछि उनी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट बाहिरिने निचोडमा पुगेको बुझ्न सकिन्छ ।
प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरु एकपछि अर्को गर्दै विवादमा आइरहँदा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले नै राजीनामा दिनुले भने बालुवाटार ठिकठाक रुपमा चलिरहेको छ भन्न सकिने अवस्था छैन । स्वयं गजुरेलले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा सल्लाहकारका रुपमा आफूले बालुवाटारमा आफ्नो उपादेयता नदेखेको बताउनुले पनि बालुवाटारभित्रको खराबीका विषयमा सहजै आंकलन गर्न सकिन्छ ।