चिसोका कारण जाजरकोट र रुकुम पश्चिमका ३२ जना भूकम्पपीडितको मृत्यु भएको छ ।
सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ जनाको मृत्यु भएको हो । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् ।
चिसो बढ्दै गएकाले यो संख्या बढ्नसक्ने सम्भावना छ । केही दिन यता देशका बिभिन्न ठाँउमा हिमपात भइरहेका बेला जाजरकोट रुकुम पश्चिमका भूकम्पपीडितहरु चिसोले कठ्याङ्ग्रिएर बेलुकी सुतेको व्यक्ति बिहान हुँदासम्म चिसोमा बाँच्छु कि बाँच्दिनँ भन्ने अवस्थामा पुगेको छ । एकातिर घर भत्किएको छ भने अर्कोतिर त्रिपालमा सबै जहान परिवार चिसोका कारण मृत्यु पर्खीएर बसेझैँ भएको छ । हुने खाने र हुँदा खानेको हैसियत भूकम्पले एकै ठाउँमा मिलाइदिएको छ ।
भूकम्प गएपछि केही दिन नेता तथा समाजसेवीहरुले राहत बाँडेका थिए । तर, जथाभावी राहत बाँडेको भन्दै जिल्ला प्रशासन कार्यालयले राहत वितरणको कामलाई समेत रोकेको छ । जिल्ला प्रशासन कार्यालयले जथाभावी राहत वितरण गरेको भन्दै हाल राहत वितरण नगर्न विज्ञप्ति नै निकालेको छ ।