Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

नातिनीको बिहेले प्रचण्डलाई कति घाटा ?


प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नातिनीको बिहेले आर्थिक व्ययभार कति प¥यो या परेन त्यो अलग्गै विषय हो । तर, राजधानीको गोकर्ण रिसोर्टमा धुमधामसँग गरिएको बिहेले प्रचण्डलाई राजनीतिक व्ययभार भने निकै गह्रुंगो परेको छ । उतिबेला जनताका छोराछोरीलाई सांस्कृतिक क्रान्तिका नाममा मुठ्ठी उचालेर बिहे गर्न लगाउँने प्रचण्डले आफ्नी नातिनिीको भने राजधानीकै महंगो रिसोर्टमा बिहे गरेपछि व्यापक आलोचना भएको हो ।

आफ्नै पार्टीका नेता कार्यकर्तादेखि लिएर अन्य पार्टीका नेता कार्यकर्ता र सर्वसाधारण सम्मले महंगो रिसोर्टमा गरिएको प्रचण्डकी नातिनीको बिहेको आलोचना गरिरहेका छन् । अहिले त्यो आलोचनाको सिधा जवाफ प्रचण्ड र उनको परिवारले दिन त सकिरहेको छैन । तर, सामाजिक सञ्जालमा भने त्यो बिहेको बचाउमा केहीले केही अनौठा तर्क गरिरहेका छन् । गोकर्ण रिसोर्टमा बिहे भएको भएपनि त्यो सामान्य प्रकारको भएको, रिसोर्टको एक कुनामा पाल टाँगेर बिहे गरिएको, महंगो खाना र पेय पदार्थ नराखिएको जस्ता तर्क सहित सामाजिक सञजालमा केहीले लेखिरहेका छन् । विशेषगरी प्रचण्ड निकटका व्यक्तिहरुको आग्रहमा त्यस्तो लेख्ने अभियान नै शुरु भएको बुझिएको छ । बिहेमा गएका फलानो व्यक्तिको भनाई भन्दै फेक स्टाटस लेखेर भ्रममा पार्ने प्रयास केहीबाट भएको छ । जस्तो महानायक राजेश हमालको नाममा भन्दै कोही कसैले फेक स्टाटस लेखिदिएर प्रचण्ड परिवारको बचाउको प्रयास गरिएको छ । तर, त्यो स्टाटस राजेश हमालको नभएर बिहेको बचाउका लागि माओवादीकै कोही कसैले गरेको असफल प्रयास भएको पत्ता लागेको छ । राजेश हमालको हवाला दिँदै प्रचण्डकी नातिनीको बिहेबारे पत्याउनै नसक्नेगरी लेखिएको स्टाटसमा भनिएको छ : प्रधानमन्त्रीकी नातिनीको बिहे भनेपछि मैले ठूलै तामझाम सम्झिएको थिएँ तर, अति सामान्य रहेछ । सोचेभन्दा निकै सामान्य । भिभिआइपीदेखि लिएर सर्वसाधारणसम्मलाई उस्तै कुर्सी, उस्तै खानपान…आदी आदी …।

तर, यो स्टाटस राजेश हमालको होइन । राजेश हमालको हवाला दिँदै प्रचण्ड परिवारको बचाउका लागि कोही कसैले गरेको असफल प्रयास हो । यस्ता असफल प्रयास अहिले सामाजिक सञ्जालमा व्यापक भइरहेको छ । नातिनीको बिहेलाई लिएर प्रचण्ड र माओवादी नेतृत्वकै आलोचना भएपछि प्रचण्ड र उनको परिवारलाई खुब माया गर्नेहरुले यस्तो गरिरहेका छन् । तर, उनीहरुले बुझिरहेका छैनन् कि यसले उल्टै प्रचण्ड परिवारलाई हानी गर्छ । बचाउ जबरजस्ती हो या के हो भन्ने कुरा अहिले सामान्य मान्छे पनि बुझ्ने भइसके । माओवादीकै नेताहरुले नै प्रचण्ड परिवारको आलोचना गरिरहेका बेला आफूलाई प्रचण्ड परिवार र माओवादीको भक्त देखाउँनका लागि यस्ता असफल प्रयास नगर्न माओवादीकै केही नेताले आग्रह नै गरिरहेका छन् । माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले त सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेर प्रचण्डको आलोचना गरेका छन् । माओवादीले रुपान्तरण अभियान चलाइरहेका बेला भएको महंगो बिहेप्रति कटाक्ष गर्दै उनले लेखेका छन् ःलुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन ।

त्यसो त केहीदिनअघि प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालका विषयमा सांसद अमरेशकुमार सिंहले लगाएको आरोपको घुँडा धसेर बचाउ गरेका माओवादी नेता दिपशिखाले पनि प्रचण्डकी नातिनीको बिहेबारे भने असन्तुष्टी जनाएका छन् । सार्वजनिक सञ्चार माध्यमलाई दिएको प्रतिकृयामा उनले सानालाई भए पो सम्झाउनु आफू भन्दा ठूलालाई के भन्नु भन्दै टीप्पणी नगर्ने भनेका छन् । माओवादीकै अन्य नेताहरुले पनि यसबारे असन्तुष्टी व्यक्त गर्दै आफूहरुले यो मामलामा नबोल्ने बताएका छन् । माओवादीका नेताहरुमध्ये कतिले गोकर्ण रिसोर्टमा भएको विवाहबारे मुख खोलेका छन् त कतिपयले नेतृत्वको डरले नबोली बसेका छन् । जे भएपनि आफूलाई सर्वहारा वर्गको नेता बताउँने प्रचण्डले नातिनीको बिहे गोकर्ण रिसोर्टमा गरेपछि भने धेरैतिरबाट आलोचना खेप्नु परिरहेको छ । गोकर्ण रिसोर्टको बिहे आर्थिक रुपमा कति महंगो थियो त्यो कुरा प्रचण्ड र उनको परिवारलाई नै थाहा होला तर, राजनीतिक दृष्टिीले भने नातिनीको बिहे प्रचण्डका लागि निकै महंगो देखिएको छ । जसको घाटा पुर्ति त्यति सजिलो छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार