निकै तामझाम सहित खुलेको ग्यालेक्सी फोर के टेलिभिजन अहिले बन्द जस्तै अवस्थामा पुगेको छ । रवि लामिछानेको अगुवाईमा खुलेको ग्यालेक्सी फोर के टेलिभिजनमा केहीदिनयता एकोहोरो गीत मात्रै बजिरहेको छ भने फेसबुक पेज र युट्युबमा पनि कुनै सामाग्री अपलोड भएका छैनन् । कान्तिपुर, एपीवान लगाएतका चलेका टेलिभिजनबाट पत्रकारहरुलाई आकर्षक तलबको लोभ देखाएर आफ्नोमा तान्दै शुरु भएको टेलिभिजन लगभग बन्द अवस्थामा पुगेको हो । टेलिभिजनको गेटमा ताला नै लागेको त छैन तर टेलिभिजनमा गएको पुस १ गतेबाट केही पनि काम भएको छैन । टेलिभिजनमा केही कर्मचारी जान्छन् पनि तर, न त टिभीको एमसीआरमा कुनै स्टाफ छन् न त क्यामेरा शाखामा नै । एचआर शाखाका प्रमुख सहित अन्य शाखाका प्रमुखहरु टिभीमा जानै छाडेपछि टिभीका प्रायः सबै दैनिक कामहरु बन्द भएका छन् ।
न्युज ट्वान्टी फोर टेलिभिजनमा केही वर्ष काम गरेपछि रवि लामिछानेले जिबी राई नाम गरेका एक व्यवसायीलाई अघि सार्दै ग्यालेक्सी फोर के टिभी शुरु गरेका थिए । सहकारीको नेटवर्क खडा गरेर अर्बौं रुपैंयाँ हिनामिना गरेको आरोपमा जिबी राई अहिले प्रहरीको फरार सूचीमा छन् भने टेलिभिजनको आधिकारिक व्यक्ति यतिबेला को हो भन्ने कुरा अन्यौलमा छ ।
करिब ६ महिनादेखि काम गरेको पैसा नपाएपछि पत्रकार तथा कर्मचारीले अघोषित रुपमा टेलिभिजन छाडेपछि अहिले टेलिभिजनको बेहाल भएको छ । केही कर्मचारीले राजीनामा दिएका छन् भने केहीले राजीनामा दिएर टिभी सञ्चालकलाई सजिलो बनाइदिनु भन्दा श्रम अदालत जाने भन्दै अदालती प्रकृयाको तयारी गरेका छन् ।
टेलिभिजन शुरु गर्दा रवि लामिछानेले टीभी चलाउँने जिम्मा मेरो भयो तनाब नलिनुस् भन्दै अहिलेका फरार जिबी राईलाई कन्भिन्स गरेका थिए । तर, टीभि शुरु गरेको करिब एक वर्ष काम गरेपछि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुराको टीम र टेलिभिजनका अन्य केही सञ्चारकर्मी लिएर पार्टी खोलेपछि टीभीको ओरालो यात्रा शुरु भएको थियो । टिभी म चलाइहाल्छु ढुक्क हुनुस् भनेर लगानीकर्तालाई आश्वस्त पारेका लामिछाने टिभीका केही पत्रकार नै लिएर बाहिरिएपछि त्यतिबेला नै जिबी राईले आफू निकटकासँग रविले मलाई डुबाए भन्दै गुनासो गर्ने गरेको गाईगुइँ चलेको थियो ।
त्यसो त रवि लामिछानेले विभिन्न मिडियाबाट तानेका सञ्चारकर्मीले पनि आफूहरुलाई लामिछानेले धोका दिएको बताउँने गरेका थिए । केही सञ्चारकर्मी रवि लामिछाने टिभीबाट बाहिरिएसँगै आफू कार्यरत पुरानो संस्थामै फर्किएका थिए भने केहीले लामिछानेले अलपत्र पारेको गुनासो गरेका थिए ।
टिभी चलाउँने भनेर ग्यालेक्सी फोर के मा विभिन्नि मिडियाबाट मान्छे थुपारेपछि रवि लामिछानेले चाहिँ पार्टी चलाउँन थालेको भन्दै केहीले असन्तुष्टी व्यक्त गर्ने गरेपनि रविको पछि लाग्दा केहीको राम्रै भएको छ । रविको पछि लागेका केहीले राष्ट्रिय स्वतन्त्र पार्टीमा महत्वपूर्ण स्थान पाएका छन् । ग्यालेक्सी टिभीमा रविसँगै काम गरेका दिपक बोहोरा, रमेश प्रसाईँ पार्टीको पदाधिकारी छन् भने अरु केहीले पनि पार्टीमा राम्रो स्थान पाएका छन् ।
यता ग्यालेक्सी फोर के टिभीमा लामो समय काम गरेर तलब नपाएका पत्रकारहरु भने संगठित भएर अदालत जाने तयारीमा छन् । तलब पाउँने आशमा काम गर्दागर्र्दै करिब ६ महिना व्यतित भएको उनीहरुको गुनासो छ । टेलिभिजनका सञ्चालक जिबी राईलाई सहकारी ठगीको आरोपमा प्रहरीले खोजी जारी राखेपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । तर, राईका व्यवसायिक साझेदार कुमार रम्तेल भने पक्राउ परेका छन् । दुवैविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरी छ । ग्यालेक्सी फोर के टिभीका सञ्चालक समेत रहेका राईलाई विरगञ्जको सहकारीको मात्रै होइन पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोप पनि छ । उनलाई जिल्ला अदालत कास्कीले पनि पक्राउ पुर्जी जारी गरेको छ ।