शनिबार पोखरामा आफूमाथि खोया प्रहार भएको विषयमा कान्तिपुरले लेखेको समाचारमाथि आपत्ति जनाउँदै रास्वपा सभापति रवि लामछिाने आक्रामक रुपमा प्रस्तुत भएका छन् । खोया प्रहार गर्ने व्यक्तिले रवि लामिछानेले पोखराको सूयदर्शन सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएको भन्दै कान्तिपुरले समाचार लेखेपछि लामिछाने आक्रोशित भएका हुन् । लामिछानेको अगुवाईमा ग्यालेक्सी फोर के टिभी शुरु गर्दा ग्यालेक्सीका अध्यक्ष जिबी राई र लामिछानेले मिलेर पोखराको सुर्यदर्शन सहकारीबाट पैसा लिएको र, त्यो पैसा हिनामिना भएर अहिले बचतकर्ता मारमा परेको आशय सहितको समाचार आएको थियो । बचतकर्ताको रकम दुरुपयोग गर्नमा लामिछाने पनि संलग्न रहेको आरोप खोया प्रहार गर्ने व्यक्तिले लगाएका छन् भन्ने समाचार आएपछि लामिछाने आक्रोशित भएका हुन् । उनले कान्तिपुरलाई आफूसँग इमानको लडाइँ नलड्न चेतावनी दिँदै भनेका छन् : लडाइँ लडियो भने यो धेरै पर जान्छ । रवि लामिछानेले कान्तिपुरलाई चेतावनी दिँदै लेखेको स्टाटसमा प्रवेश गर्नुअघि कान्तिपुरले खोया प्रहारबारे के समाचार लेखेको थियो त्यो हेर्नुहोस् :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो । रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जेबी) राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् । राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको र ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक सेयर लगानी गरेको फेला परेको थियो ।रानाभाटले लामिछानेले समेत सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।
कान्तिपुरको यही समाचारप्रति आपत्ति जनाउँदै रवि लामिछानेले एक मिनेट ४१ सेकेण्डको भिडियो पोष्ट गर्दै आफ्नो फेसबुकमा लेखेका छन् :
मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋण लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ, क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र?
हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न,
छर-छिमेकीलाई डिस्टर्ब हुन्छ।
भिडियो हेर्नू होला।
लामिछानेले कास्की प्रहरीका प्रमुख एसपी मोहन थापासँग कुरकानी गर्दै पोष्ट गरेको भिडियोमा लामिछानेलाई खोया प्रहार गर्ने रानाभाटबारे उल्लेख छ । रानाभाट के कस्तो व्यक्ति हो भन्ने विषयमा एसपीले लामिछानेलाई बताएका छन् । खोया हान्ने व्यक्तिलाई आफूहरुले पक्राउ गरेपछि कोही कसैसँग भेट्न नदिएको र सार्वजनिक भएको समाचार फेक भएको एसपीले दाबी गरेका छन् । नियोजित रुपमा त्यो समाचार बाहिरिएको एसपीले लामिछानेलाई बताएका छन् ।