प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दिनहुँ के कस्तो खाजा पुग्छ त्यो बाहिरिएको छैन । तर, मंगलबार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुन्द्रुकदेखि फापरको रोटीसम्म कार्यालयमा मगाएका थिए । आफू प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री कार्यालयमा खाजाको व्यवस्था थियो । जसमा गुन्द्रुक, फापरको रोटी, कोदोको निम्की, राजमा, चिनोको सेल, मार्सीको खिर, सुन्तला र लट्टेको लड्डु थियो ।
प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा नयाँ छलाङ हान्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले कही प्रतिबद्धता व्यक्त गरे । जसलाई त्यस्तो छलाङ भन्न नसकिएला । तर, प्रधानमन्त्री प्रचण्डले नातिनीको बिहे गोकर्ण रिसोर्टमा खर्चिलो रुपमा गरेर कम्युनिष्टकै बदनाम गरे भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्यालयमा व्यवस्था गरिएको खाजाको परिकारले भने साँच्चै छलाङ नै हानेको धेरैलाई आभाष भएको हुनुपर्छ । चिकेन रोष्ट, पिज्जा, मम जस्ता खाजाहरु सरकारी कार्यालयमा भित्रिएर महँगो बिल उठिरहेका बेला अर्गानिक उत्पादनलाई प्रबद्र्धन गर्ने हिसाबले हो या के हो उद्देश्य जे नै भएपनि गुन्द्रुक, फापरको रोटी, कोदोको निम्की लगाएतको व्यवस्थाले भने सकारात्मक सन्देश दिएको छ ।
प्रचण्डको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर सकियो भन्ने आरोप माओवादीकै नेताहरुबाट लागिरहेका बेला प्रधानमन्त्री कार्यालयमा देखिएको गुन्द्रुक, फापरको रोटी अनि कोदोको निम्की सहितको खाजाले प्रधानमन्त्री तै सुध्रिन्छन् कि भन्ने आशा पलाएको छ ।