Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रविले क्या दामी दिन्छन् यार !


राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नारा छ, जान्नेलाई छान्नेँ । तर, यो नारा पार्टीका सभापति रवि लामिछानेका हकमा भने गतिलो व्यंग्य जस्तो भएको छ । रवि लामिछाने विवादमा तानिएका केही विषयसँग यही नारालाई जोडेर अहिले रवि लामिछानेको व्यापक आलोचना भइरहेको छ । जान्नेलाई छान्ने यो नारा बोकेको पार्टीका सभापति रवि लामिछानेले भर्खरै सार्वजनिक गरेको एउटा अभिव्यक्तिले उनको व्यापक आलोचना भएको हो ।

राजनीतिमा आउनुअघि उनी मालिक रहेको ग्यालेक्सी फोर के टिभीको माउ कम्पनी गोरखा मिडिया नेटकवर्कले सहकारीहरुबाट ठूलो अंकमा गैह्रकानुनी तबरले ऋण लिएको र त्यो ऋणको दुरुपयोग भएका कारण सयौंको संख्यामा रहेका सहकारीका बचतकर्ताहरुको विचल्ली भएको खबर सार्वजनिक भयो । नियमतः कुनैपनि कम्पनीले सहकारीबाट ऋण लिनुलाई गैह्रकानुनी मानिन्छ । प्राइभेट होस या पब्लिक कुनैपनि कम्पनीले सहकारीबाट ऋण लिनु या त्यस्ता कम्पनीलाई सहकारीले ऋण दिनु कानुनका नजरमा दण्डनीय हुन्छ । तर, चितवन र पोखराको सहकारीबाट रवि लामिछाने पनि यसअघि मालिक रहेको ग्यालेक्सी फोर के टिभीले ठूलो अंकमा ऋण लिएको विषयमा उनले दिएको अभिव्यक्तिले जान्नेलाई छान्ने भन्ने उनकै पार्टीको नारालाई गिज्ज्याइरहेको छ ।

उनको यसअघिको मिडिया कम्पनीले सहकारीबाट ऋण लिएको विषयमा उनले भनेका छन् : सहकारीबाट कुनै पनि कम्पनीले ऋण लिन हुँदैन भन्ने कुरा मलाई थाहा थिएन । यस्तो कुरा गैह्र कानुनी हुन्छ भन्ने मैले बुझेको थिइनँ । यत्ति सामान्य कुरा कुनैपनि कम्पनी चलाउनेले जान्ने र बुझ्ने कुरा हो । तर, जान्नेलाई छान्ने नारा दिएर राजनीतिमा उदाएका रवि लामिछानेले कुन काम कानुनी र कुन काम गैह्र कानुनी भन्ने जानेका रहेनछन् । त्यसो त कानुनी दृष्टीमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन । मलाई कानुन थाहा थिएन त्यसकारण मैले यस्तो गल्ती गरेछु भन्दैमा कोही पनि उम्कन सक्दैन भनिन्छ । कानुन सबैका लागि बराबर हो त्यसैले रवि लामिछानेका हकमा पनि कानुनको अनभिज्ञता पक्कै क्षम्य नहोला ।

जान्नेलाई छान्ने भन्ने नारालाई पार्टीको मूख्य नारा नै बनाएको यो पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको विषयले यतिबेला गिज्याइरहँदा यो नै उनको पहिलो अनभिज्ञता भने होइन । उनको नागरिकता प्रकरण जान्नेलाई छान्ने नारा बोकेको पार्टीका लागि अर्को ठूलो व्यंग्य थियो । विदेशी नागरिकता लिइसकेपछि नेपाली नागरिकता स्वतः निस्क्रिय हुन्छ भन्ने धेरैलाई थाहा भएको विषय हो । तर, उतिबेला अमेरिकाको नागरिकता लिएका लामिछानेले विदेशको नागरिकता लिएपछि मेरो नेपाली नागरिकता अवैधानिक भयो भन्ने कुरा जानेका रहेनछन् । त्यही नजान्दा उनको छँदाखाँदाको सांसद पद मात्रै होइन गृह र उपप्रधानमन्त्री पद नै गयो ।

जान्नेलाई छान्ने नारा दिएको पार्टीकै सभापतिको ज्ञान बडो विचित्रको देखिएको छ । उनलाई नेपाली कानुन अनुसार न त दोहोरो नागरिकता अवैधानिक भन्ने थाहा रहेछ न त दोहोरो पासपोर्ट नै अवैधानिक भन्ने । उनलाई कुनैपनि कम्पनीले सहकारीबाट न त ऋण लिनु गैह्रकानुनी भन्ने थाहा रहेछ न त सहकारीले कम्पनीलाई ऋण दिनु गैह्रकानुनी भन्ने नै । तैपनि उनी कार्यकारी सभापति भएको पार्टीको नारा छ ः जान्नेलाई छान्ने । साँच्चै पार्टीको नारालाई मनन गर्ने हो भने त प्रश्न उठ्छ, उनका पार्टीका मान्छेहरुले पनि उनलाई के आधारमा पार्टीको सभापति छाने होलान् ? अनि के सोचेर चितवनका जनताले दुई दुईपटक सांसद पदमा विजयी गराए होलान् ?

सबैलाई सबै कुरा थाहा हुन्छ भन्ने होइन । तर, सामान्य कुराको पनि हेक्का नभएका रवि लामिछानेले उतिबेला टेलिभिजनको स्क्रिनबाट कैयन मान्छेहरुलाई बित्थामा थर्काएका कुराले उनलाई यतिबेला पोल्छ कि पोल्दैन होला ? उतिबेला टिभीको स्क्रिनबाट आफैं प्रहरी आफैं अदालत झैं गरी उनले के सम्म गरेनन् ? भो ती सबै कुराको बखान नगरौं । मै जान्ने मै सुन्नेँ मै सर्वेसर्वा अरु सबै गँवार झैं गरी उनी टेलिभिजनका स्क्रिनमा प्रस्तुत हुन्थे । टेलिभिजनमा स्क्रिनबाट ठूलो स्वर निकाल्दै थर्काउदै भन्थे : ए सर, तपाईलाई यति सामान्य कुरा पनि थाहा छैन ? अहिले उनैको सिको केही टेलिभिजनकर्मीहरुले गरेका छन् । गाली गर्नु नै असली सञ्चारकारिता ठानेका छन् ।

हुन त टेलिभिजनको स्क्रिनबाट अरुको सात्तो लिएकै भरमा रवि लामिछाने केही वर्षमै सेलिब्रेटी टेलिभिजनकर्मी मात्र बनेनन् यो देशको गृह र उपप्रधानमन्त्री बने । अनि उनलाई आदर्श पात्र मान्दै उनकै शैली अरुले किन नपछ्याउन् ? यतिबेला रवि लामिछाने नेता थिएनन् र मानौं उनी टेलिभिजन प्रस्तोता थिए भने उनी कसरी प्रस्तुत हुन्थे होलान् ? उनको ठाउँमा अरु कसैले नागरिकता र पासपोर्ट मामलामा उनकै जस्तो गल्ती गरेको भए उनले के गर्थे होलान् ? उनको नागरिकताका विषयमा लगातार समाचार लेखेको आरोपमा लामिछानेले नेपाली पत्रकारितालाई १२ भाईको ट्याग लगाइदिए । तर, उनी सञ्चारकर्मी र अरु कुनै व्यक्ति उनैको जस्तो नागरिकता प्रकरणमा मुछिएको भए उनी कति औं भाईमा पर्थे होलान् ? उनले त्यही नागरिकताको विषयलाई लिएर कतिवटा फलोअप रिपोर्ट लेख्थे होलान् ? टेलिभिजनका कतिवटा इपसिोड नागरिकतामै केन्द्रीत रहेर चलाउँथे होलान् ? अनि मानौं अहिले उनी चाहिँ टेलिभिजनका कार्यक्रम प्रस्तोता र अर्को कुनै मिडिया सञ्चालकले सहकारीबाट कम्पनीको नाममा यसैगरी ऋण लिएको भए उनी के के भन्थे होलान् ? के के गर्थे होलान् ? अनि मानौं अर्को कुनै व्यक्तिले रवि लामिछानेको जस्तै यी तमाम गल्ती गर्दै पार्टी खोलेको भए, ऊ त्यो पार्टीको सभापति रहेको भए अनि पार्टीको नारा चाहिँ जान्नेलाई छान्ने भन्ने थियो भने रवि लामिछानेको टेलिभिजन प्रस्तुती कति तिखो हुन्थ्यो होला ? अनि उनको कार्यक्रम हेर्ने दर्शकले क्या स्वाद मानेर कार्यक्रम हेर्दै भन्थे होलान् : जिउँदो पत्रकार भनेको रवि लामिछाने मात्रै हुन् । क्या दामी दिन्छन् यार रवि लामिछानेले ।


प्रतिक्रिया दिनुहोस !
विचार