भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला शुक्रबार मध्यान्ह बालकुमारी हुँदै सातदोबाटोतर्फ हुँइकिरहेका थिए । तर, मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको झण्डावाल गाडी जब बालकुमारी पुल नजिकै पुग्यो तब एकाएक उनको गाडी घेराबन्दीमा प¥यो । इपिएस कोरिया परीक्षाको विषयलाई लिएर आन्दोलित बनेका युबाहरुले उनको गाडी घेराबन्दीमा पारे । आन्दोलित युवाहरुले भित्र रहेकालाई तत्काल बाहिर निस्किनँ भने । केही युवा गाडीको हावा खुस्काउन लागे भने केही चाहिँ मन्त्रीको गाडीमा लात्ति हान्नँ । मन्त्रीसँग दुई जना पिएसओ र एक जना चालक बाहेक अरु कोही थिएनन् । आफूहरुलाई गाडीबाट बाहिर निकालेपछि मन्त्री सडकको किनारामा उभिएर फोन गर्न लागे । त्यतिबेलासम्म उनको गाडीमा आगो दन्किन थालिसकेको थियो ।
मन्त्रीकै गाडीमा आगो लागेपछि आन्दोलनको पृष्ठभूमी चाहिँ के थियो भनेर यतिबेला धेरैलाई चासो भएको छ । खासमा इपिएस प्रणालीबाट कोरिया जान चाहने युवाहरुले केही वर्षयता परीक्षा दिइरहेका छन् । परीक्षामा उतिर्णहरु कोरिया गएका पनि छन् । पछिल्लोपटक इपिएस कोरिया शाखाले उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी हुन चाहनेका लागि आवदेन आह्वान ग¥यो । ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना जारी गरेर उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको थियो । जसमा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरूले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने उल्लेख थियो ।
यस प्रकारको आह्वानपछि अन्य क्षेत्रमा यसअघि परीक्षा दिएर अनुतिर्ण भएकाहरु रुष्ट बने । केही समयअघि जहाज सम्बन्धि काम अर्थात सिप बिल्डिङका लागि भएको परीक्षामा अनुतिर्ण बनेकाहरु मध्ये १८ जना त अदालत नै गए । उच्च अदालत पाटनले ती १८ जनाको रिटमाथि आदेश दिँदै निवदेकहरुलाई परीक्षाका लागि आवेदन दिने व्यवस्था गर्न इपिएस शाखाका नाममा आदेश दियो । सो आदेशपछि १८ जना निवेदकले मात्रै आवेदन दिन पाउँनेगरी ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलायो । १८ जनालाई मात्रै फाराम भर्नका लागि बोलाइएपछि अन्य युवाहरु आक्रोशित बने । आक्रोशित युवाहरुले आफुहरुले पनि आवेदन दिन पाउँनुपर्ने भन्दै इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोअघि प्रदर्शन गरे । प्रदर्शन चलिरहेका बखत यातायात मन्त्री प्रकाश ज्वालाको गाडी प्रदर्शन स्थल नजिक पुग्यो । प्रदर्शन गरिरहेका युवाहरुले एकाएक मन्त्रीको गाडीलाई घेरा हाले । उनीहरुले मन्त्रीलाई गाडीबाट बाहिर निकाले र मन्त्रीको गाडीमा आगो लगाए । गाडीमा आगो लगाएपछि मन्त्री सहित उनका पिएसओ र सवारी चालकलाई प्रहरीले उद्धार गरेर सिंहदबार पु¥याएको थियो । मन्त्रीको गाडीमा आगजनी गर्ने मध्ये केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने उनीहरुमाथि सार्वजनिक सम्पति तोडफोड तथा आगजनी गरेको आरोपमा मुद्दा दायर गर्ने तयारी भइरहेको बुझिएको छ ।
यातायात मन्त्रीकै गाडीमा आगजनी भएपछि यतिबेला केहीले मन्त्री, सांसद तथा उच्चपदस्थहरु असुरक्षित रहेको टिप्पणी गरेका छन् भने केहीले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।