पूर्व सञ्चारकर्मी समेत रहेका रवि लामिछाने नेतृत्वको पार्टी रास्वपाभित्र राजनीतिक भुईँचालो शुरु भएको छ । पछिल्लो समय रास्वपाका सभापति लामिछानेसँग जोडिएर सहकारी घोटलाका विभिन्न समाचार सार्वजनिक भएपछि पार्टीभित्रका नेताहरु निकै रुष्ट बनेको बुझिएको छ ।
कतिपय नेताहरु लामिछानेको विरोध गर्दा पद जाने डरले बोल्न नसकेको बुझिएको छ भने कतिपयले राजिनामा नै बुझाउन थालेका छन् । रविको कार्यशैली र रविसँग बिभिन्न काण्ड जोडिए पछि असन्तुष्ट बनेका सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । उनीहरुले रविको विरोध गर्दा प्रत्यक्ष असर पर्ने भएकाले प्रदेश कमिटीलाई समय दिन नसक्ने कारण देखाउदै राजीनामा दिएका हुन् ।
महामन्त्री भोजराज जोशीले आफुले पदबाट राजीनामा दिएको भन्दै फेस्बुक स्टाटस समेत लेखेका छन् । स्टाटस लेखेर आफुले राजीनामा दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत राजीनामा घोषणा गर्दै उनले लेखेका छन्, ‘केही समयका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सुदुरपश्चिम प्रदेश महामन्त्री तथा संगठन बिभाग प्रमुखको जिम्मेवारी बाट ब्याक रहेको जानकारी गराउदछु, बिस्तृत कमेन्टमा ।’ उनले कमेन्टमा लेखेका छन्ः ‘सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवार पद लिई काम गरिरहेको यहाँहरूलाई थाहा नै छ । पछिल्लो समय सामाजिक कामहरू र आफ्नो क्षेत्रमा कम समय दिएको महसूस गरेको छु, त्यता समय दिँदा यहाँ संगठनलाई मैले गर्दा कुनै अवरोध नआओस् र पूर्ण खटिन सक्ने अर्को साथीलाई पनि पालो दिनुपर्छ भन्ने सोचका साथ अहिलेको लागि जिम्मेवारी पछाडि हटे पनि मेरो सक्रियता रहिरहने छ र जुन यहाँहरूले गर्नुभएको विश्वास छ, त्यो विश्वासलाई निराशामा कहिले परिणत हुन दिने छैन । सधैं सुख–दुःखमा यहाँहरूको साथमा रहनेछु । जय जनता ! जय घण्टी !’ उनले घुमाउरो शैलीमा पार्टी भित्र बिभिन्न अवरोध भएका कारण आफ्नो कारणले पनि अरु अवरोध नथपिउन् भन्ने हिसाबले आफुले राजीनामा दिएको बताएका छन् ।
उपसभापति श्रृष्टी महराले पनि आफ्नै कारण देखाउदै पदबाट राजीनामा दिएकी हुन् । उनिहरुले सभापति लामिछानेबाट असन्तुष्ट भएर राजीनामा दिएको रास्वपाका केही नेताहरुले नाम उल्लेख नगर्ने सर्तमा बताए । नाम नै लिएर सिधै कारण देखाउँदा प्रत्यक्ष असर पर्ने डरले पार्टी भित्रका नेता तथा सदस्यहरु भित्र भित्रै रुष्ट बनेका हुन् । अन्य केहि जिम्मेवार पद सम्माहालेका नेताहरु पनि राजीनामाको तयारीमा रहेको बुझिएको छ ।
केहि समय यता रास्वपा सभापति रवि लामिछानेलाई विभिन्न सहकारीसँग जोडेर समाचारहरु आइरहेका छन् । लामिछानेका तत्कालिन व्यवसायिक साझेदार जिबी राईसँगको मिलेमतोमा उनलाई सहकारीका बचतकर्ताहरुलाई बिचल्ली बनाएको केहीले आरोप लगाएका छन् । तर, लामिछानेले आरोपको भने खण्डन गर्दै आइरहेका छन् ।
यता रास्वपा नेताहरुले पदबाट राजीनामा दिन थालेका समाचार बाहिरिएपछि केहिले सामाजिक सञ्जालमा लेखेका छन्ः “रवि लामिछाने कस्तो व्यक्ति हो भन्ने कुरा पार्टी भित्रका नेता र जनताले बल्ल बुझेछन् । आफ्नो स्वभिमान र बिबेकमा हिड्ने ब्यक्ति कोहि पनि पार्टीको नोकर भएर बस्न सक्दैनन् । देश र समाजलाई दण्डहिनता, बेथिती र भ्रस्टाचार को पन्जाबाट मुक्त गराउने हाम्रो परिबर्तनको अभियान सफल पारौं ।” कतिले भने रास्वपा ओरालो तिर लागेको जिकिर गरिरहेका छन् ।