Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

खाली चौरमा भाषण गरिरहेको तस्विर भाइरल


सोसियल मिडियामा अहिले एउटा तस्विर निकै भाइरल भइरहेको छ । यो तस्विर हो, गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाको ।

दर्शक–स्रोता नै नभएको फुटबल मैदानतिर फर्किएर उनले भाषण गरिरहेको र त्यसमा एक जना पुरूषले मोबाइलले फोटो–भिडियो खिचिरहेको तस्वीर शुक्रबार रातिदेखि भाइरल छ । यो तस्वीर भाइरल हुनुको अर्को कारण हो मन्त्रीको अघि उभिएर भिडियो खिचिरहेका पुरूष । ती पुरूष मन्त्री सिम्खडाका श्रीमान् जनक बिसी हुन् । बिसी श्रीमती सिम्खडाका स्वकीय सचिव हुन् । सुरूमा केही पत्रकारले उनी बोलेको खिचेका थिए । पछि पत्रकारले उनी बोलेको सबै खिचेनन् । स्वकीय सचिव बिसीले मात्र अन्तिमसम्म सबै सम्बोधन रेकर्ड गरेका थिए । यो तस्वीर खाली मैदानतिर फर्केर पछाडि रहेका अतिथि र आयोजकसामु मन्त्रीले खेलाडीलाई ऊर्जा भर्ने खालको भाषण दिइरहँदा खिचिएको हो ।

पोखरामा शुक्रबारदेखि सुरु भएको कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८० मा उनी प्रमुख अतिथि रहेकी थिइन् । मन्त्री सिम्खडाले कार्यक्रममा खेलाडीहरुमा हुनुपर्ने अनुशासनको बारेमा भाषण गरिरहेकी थिइन् । उनी बोलिरहदाँ औंलाले गन्न सकिने मान्छे मात्र कार्यक्रम स्थलमा भएको देख्न सकिन्छ । दर्शक हुनुपर्ने चौर पुरै खाली छ । अगाडी बसेर उनका श्रीमान फोटो तथा भिडियो खिचिरहेका छन् । अनि अलि पर अगाडी ५/७ जना मान्छे देख्न सकिन्छ ।

उनीहरू पनि मन्त्रीको भाषण नसुनी आफैं गफगाफमा व्यस्त छन् । मन्त्री सिम्खडाले खेलाडीमा अनुशासन हुनुपर्ने भन्दै हरेस नखाई खेलाडीहरुलाई निरन्तर अगाडी बढ्न प्रोत्साहन गर्दै भाषण गरिरहेकी थिइन् । र, यसलाई जीवनको अंग बनाउनुपर्ने बताइरहँदा अगाडिपट्टी सुन्ने खेलाडी कोही थिएनन् । ‘खेल क्षेत्र कहिले पनि हरेश नखाने क्षेत्र हो । तपाईंहरू यो हिमाल र देश चिनाउने कर्णधार हो । त्यसैले पनि अनुशासन आवश्यक छ । त्यो अनुशासन न अरु कसैलाई दिन सक्नुहुन्छ न अरु कोहीसँग माग्न सक्नुहुन्छ,’ उनले खाली चौरअगाडि उभिएर भनिरहेकी थिइन्, ।

यसबाट भाषण सुनेर बस्न कति अधैर्य छन् भन्ने प्रष्ट देखाउँछ । त्यति मात्र होइन, प्रदेशका मन्त्रीको भाषण सुन्न कत्ति पनि चासो नरहेको प्रष्ट देख्न सकिन्छ । खेलाडीहरुमा अनुशासन हुनुपर्ने भन्दै अनुशासित बन्न प्रेरित गरिरहेकी मन्त्रीको भाषण नसुनी खेलाडीहरु आ–आफ्नै कामका लागि बाहिरीएका थिए । कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोह पोखरा रंगशालाको फुटबल खेल मैदानमा भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा रहेकी थिइन् ।

कार्यक्रम गएको शुक्रबार भएको भए पनि उक्त तस्बिर भने अहिले सोसियल मिडियामा भाइरल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार