राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले कान्तिपुर विरुद्ध मुद्धा दर्ता गरेका छन् । बिभिन्न सहकारीसँग जोडेर कान्तपुरले बारम्बार समाचार सम्प्रेषण गरेकोले आफ्नो मान हानी भएको भन्दै रविले मुद्धा दायर गरेका हुन् । उनले सामाजिक सञ्जाल फेस्बुकमा स्टाटस लेखेर आफुलाई बदनाम गर्ने गरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्ने विरुद्ध कानुनी उपचारमा गएको बताएका छन् ।
“एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए÷देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।”
यसअघि रास्वपा सभापति रवि लामिछानेले कान्तिपुरले आफ्ना विरुद्ध बारम्बार लेखेको गलत समाचारको आफूले जवाफ दिइरहन आवश्यक नभएको बताएका थिए । पाँचदिन अघि उनले कान्तिपूरविरुद्ध अदालत जाने संकेत गर्दै यस्तो स्टाटस लेखेका थिएः
“अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन। तैपनि शुभचिन्तकहरुलाई भ्रम नपरोस् भनेर यति लेख्दै म सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिदै छु। सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ। मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुप¥यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुप¥यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुप¥यो।
तर कान्तिपुरले न सुप्रिम सहकारीको कसको नाममा रहेको खाताबाट त्यो रकम ट्रान्सफर भएको भन्ने लेखेको छ, न मैले नै त्यो रकम बैँकमा जम्मा गरेको प्रमाण दिन सकेको छ। खाता नै नभइकन कुनै सहकारीको रकम कसैले कुनै कम्पनीको बैँक खातामा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन भन्ने अति सामान्य कुरा देशको यति ठूलो मिडियाका पत्रकारहरुले नबुझेको कसरी मानौँ ?
तर हुँदो रहेछ। फगत् एउटा डिपोजिट स्लिपमा मेरो पनि नाम कसैले लेखेकै भरमा मेरो प्रत्यक्ष संलग्नता भएको ठूलो हेडलाइनसहितको समाचार बन्न यस्ता सामान्य आधारभूत तथ्यमा समेत विचार गरिएन। कसैले कैलाश सिरोहियाको नाममा कसैको बैँक खातामा रकम जम्मा गरिदियो भने दोषी त्यो मान्छे हुन्छ कि कैलाश सिरोहिया? फेरि बैँकले एक लाख रुपैयाँभन्दा बढी नगद खातामा जम्मा गर्दा डिपोजिट गर्नेको परिचय खुल्ने कागजात पनि माग्ने कुरा त सबैलाई थाहै भएको कुरा हो। एक करोड रकम जम्मा गर्नेको हस्ताक्षर वा पहिचान हुने कागजात बैँकले राखेन होला र? त्यसमा मेरो केही नदेखिएकै कारणले त लेखिएन होला।
समाचारमा नै सहकारीको रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएको छ। यसबाटै म यसमा प्रत्यक्ष संलग्न नरहेको पुष्टि हुन्छ। न म सहकारीको बचतकर्ता वा खातावाला हुँ, न सहकारीको पदाधिकारी। अनि मैले मसँग सम्बन्ध नै नरहेको सहकारीको रकम कसरी अर्को खातामा ट्रान्सफर गर्न लगाउने हैसियत राख्छु ? यति धेरै खोज पत्रकारिता गर्नेले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न पनि सकेन। जनविश्वास गुमाउँदै गएको आरोप लागिरहेको पत्रकारिताको केही त मान राख्दिनुस्।”