Logo
२०८१, २ माघ बुधबार
|  Wed Jan 15 2025

बालेनले कर्मचारी थुन्न गुहारे गृहमन्त्री


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै सचिवालयका प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृतसम्मलाई थुन्न गृहमन्त्री गुहारेका छन् । गलत काम गरेको आरोपमा केहीदिनअघि आफूले निलम्बन गरेका आफ्नै सचिवालयका प्रमुख नुरनिधी न्यौपाने तथा बिदामा बस्न निर्देशन दिएका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई थुन्न भन्दै उनले गृहमन्त्रीलाई फोन नै गरेको बुझिएको छ । कार्यपालिकाले गरेको निर्णयमा तलमाथि गर्दैै फरक तबरले प्रमाणिकरण गर्न सघाएको आरोपमा महानगरपालिकाका मेयर बालेन शाहले केहीदिनअघि मात्रै आफ्नै सचिवालयका प्रमुख सहित ४ जनामाथि एक्सन लिएका थिए ।

कार्यपालिकाको बैठकले स्वास्थ्य प्रबद्र्धन केन्द्रमा पाँच जना कर्मचारीको करारलाई निरन्तरता दिने निर्णय गरेकोमा सो प्रमाणिकरणका लागि बालेन शाहको टेबुलमा पुग्दा ६ जनाको नाम भेटिएपछि बालेन शाह प्रमुख प्रशासकीय अधिकृत तथा आफ्नै सचिवालयका प्रमुखप्रति आगो बनेका थिए । पाँच जना कर्मचारीको जागिरलाई निरन्तरता दिने निर्णय भएकोमा महानगरपालिकाकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरीको नाम समेत थपेर ६ जनालाई जागिर खुवाउने योजना सहितको फायल आफ्नो टेबुलमा आएपछि मेयर बालेन शाहले तत्कालै एक्सन लिएका थिए । उनले आफ्नै नेतृत्वमा अनुसन्धान गर्ने भन्दै तत्कालै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई अर्को निर्णय नभएसम्मका लागि कार्यालयका काममा नआउन भनेका थिए । कार्यपालिकाको निर्णय तलमाथि गर्ने काममा प्रमुख प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको आशंका गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा आउँदा अनुसन्धान प्रभावित हुने भएकाले प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न निर्देशन दिएका थिए भने आफ्नै सचिवालयको कमाण्ड सम्हालेका सचिवालय प्रमुख नुरनिधी न्यौपाने सहितका व्यक्तिलाई निलम्बन गरेका थिए । निलम्बन पर्नेमा सचिवालय प्रमुख नुरनिधी न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगबती बिडारी रहेका छन् ।

आफूले निलम्बन सहितको कारबाही गर्दा समेत निलम्बित कर्मचारी तथा बिदामा बस्न भनिएका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा फर्कनका लागि विभिन्न नेताहरुकोमा धाउन थालेको सुइँको पाएपछि मेयर बालेन शाह थप क्रुद्ध बनेका छन् । गलत काम गरेर पनि फाइँफुर्ती कायम राखेको भन्दै उनले ती कर्मचारीलाई थुन्नका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत सहितका व्यक्तिलाई थुन्न भन्दै बालेन शाहको तारन्तार फोन आएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत अलमलमा परेको बुझिएको छ । बालेन शाहको लगातार फोन आएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयका अधिकारीहरुसँग कुनै कर्मचारीलाई सिधै प्रहरीले थुन्न मिल्छ कि मिल्दैन भनी सोधेका थिए । प्राप्त जानकारी अनुसार जवाफमा गृहका अधिकारीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कर्मचारी थुन्ने प्रकृया सोचेजस्तो सिधा नभएको भन्दै अख्तियार मार्फत जानुपर्ने बताएका थिए । कर्मचारी बाहेकका सर्वसाधारणको हकमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउँन सक्ने भएपनि कर्मचारीको हकमा अख्तियार मार्फत जानुपर्ने उनीहरुको सुझाव थियो । प्रकृयागत ढंगले अघि बढ्न गृहका अधिकारीहरुले सुझाएपछि गृहमन्त्रीले बालेन शाहलाई सोही कुरा भनेको बुझिएको छ ।

अहिले बालेन शाहले उक्त घटनाका विषयमा सुक्ष्म ढंगले आफ्नै अगुवाईमा अनुसन्धान गरिरहेको र गलत काम गर्ने जो कोही कर्मचारीलाई पनि नछाड्नेगरी अघि बढेको महानगर स्रोतले जनाएको छ । बालेनको सचिवालयका एक कर्मचारीले जानकारी दिए अनुसार अबको केही दिनमा नै सम्भवतः महानगरपालिकाले अख्तियारलाई थप अनुसन्धानका लागि पत्र लेख्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार