Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

शिष्टाचार भेटका लागि नेपाल आइपुगे भारतीय विदेश मन्त्री जयशंकर


भारतीय विदेश मन्त्री एस.जयशंकर नेताहरुसँग शिष्टाचार भेटका लागि नेपाल आइपुगेका छन् । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन् ।

भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट बिहान ९ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुगेका उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्र मन्त्री एनपी साउद आफै पुगेका थिए । त्रिभुवन विमानस्थलबाट सोझै शितलनिवास पुगेर विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछन्।

दिउँसो १२ बजे बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ। त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

उनको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारी समावेश रहेका छन् ।

दुई दिने भ्रमण सकेर उनी भोलि नै नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालययले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार