७ बर्ष पहिले दर्ता भएको प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । प्रचण्डले दिएको विवादास्पद अभिव्यक्ति विरुद्ध परेको मुद्दामा आज अदालतले निर्णय सुनाउने भएको हो ।
२०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भन्दै शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए ।
माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । त्यतिबेला व्यक्तिहत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए ।
लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । गत १८ मंसीरमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने भनेपनि मिति सरेर आजका लागि तोकिएको हो ।