Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

राप्रपामा भाँडभैलो, लिङदेनकै ग्रिन सिग्नलमा विष्टले सभामुख पडकाउँदा ज्ञानेन्द्र शाही यसकारण मौन


राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बनेको विषयलाई लिएर राप्रपाभित्रै भाँडभैलो शुरु भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापाका विष्ट लिङदेनकै सल्लाहमा सभामुख बनेको आशंकासहित राप्रपामा भाँडभैलो शुरु भएको हो । संघीयता खारेजीको माग एकातिर गर्ने अनि अर्कातिर प्रदेशको सभामुख लगाएतका पद चाहिँ नछाड्ने राप्रपाको शैली गलत भएको भन्दै राप्रपाकै नेता कार्यकर्ताले सार्वजनकि रुपमै चर्को बिरोध गरिरहेका छन् । राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनी संयोजक रहेको केन्द्रीय निर्देशन समितिको बैठकले समेत कोशीका अम्बरबहादुर विष्टलाई सभामुखको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । तर, विष्टले उम्मेदवारी फिर्ता लिएनन् बरु लोहनीको निर्देशन लत्याउँदै उनले सभामुख पदको कुर्सी सम्हाले ।

कोशीमा अम्बरबहादुर विष्ट सभामुखको कुर्सी सम्हाल्न आफ्नै बुद्धिले मात्रै अग्रसर नभएको राप्रपाका केही नेताहरुको बुझाई छ । लिङदेनको गृहजिल्ला झापाका विष्टले लिङदेनबाट ग्रिन सिग्नल नपाएको भए राप्रपाको केन्द्रीय निर्देशन समितिको निर्देशन लत्याउँनै नसक्ने उनीहरुको ठम्याई छ । लिङदेनको दह्रो साथकै कारण उनी प्रदेशको सभामुखका लागि अघि बढेको चर्चा राप्रपाभित्र चलिरहेको छ । सामाजिक सञ्जालमा समेत यतिबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको आलोचना भइरहेको छ । डा.प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र लगाएतका नेताहरुले सभामुखमा अम्बरबहादुर विष्ट चयन भएको कुराको बिरोध गरिरहँदा लिङदेनसहित ज्ञानेन्द्र शाही लगाएतका नेताहरु भने मौन छन् । संघीयता खारेजीका विषयमा चर्का कुरा गर्ने ज्ञानेन्द्र शाहीको यो मौनतालाई पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसो त राजेन्द्र लिङदेन यो मामलामा मौन बसेका कारण पनि ज्ञानेन्द्र शाही मौन बसेर लिङदेनलाई साथ दिइरहेको केहीको बुझाई छ । ज्ञानेन्द्र शाही पार्टीभित्र लिङदेनका अघि बोल्न नसक्ने नेताका रुपमा चिनिन्छन् । लिङदेनले नै शाहीलाई एउटा अभियानबाट पार्टीमा भित्रयाएर आफू सँगसँगै हिँडाउँदै सांसदको टिकेट दिनेदेखि लिएर सांसद निर्वाचित भएपछि संसदीय दलको प्रमुख सचेतक बनाइदिने सम्मका काम गरेका कारण उनी लिङदेनका गलत कामको समेत बिरोध गर्न सक्ने अवस्थामा नरहेको राप्रपाकै कतिपय नेताहरुको भनाई छ ।

प्रदेशसभा खारेजीको माग गर्दै सार्वजनिक फोरमहरुमा चर्का कुरा गर्ने राप्रपाका नेताहरुका लागि कोशी प्रदेशको सभामुखको विषयले यतिबेला नैतिक संकट निम्त्याइरहँदा यो विषय भोलिका दिनमा कसरी अघि बढ्छ भन्ने कुरा भने धेरैका लागि कौतुहलताको विषय बनेको छ । हुन त प्रदेश संरचनाको विरोध गर्दै संघीयता खारेजीको माग गरिरहेको राप्रपाले आफ्नै नीतिलाई नै गिज्ज्याउनेगरी सभामुख पद लिएको यो पहिलोपटक होइन । अहिले राप्रपामा विरोधका बीच कोशी प्रदेशमा अम्बरबहादुर विष्ट सभामुख बनेपनि यसअघि वागमती प्रदेशमा सबै नेताहरुको सल्लाह र हासीखुसीका बीचमा भुवन पाठक सभामुख बनेका थिए । भुवन पाठक वागमती प्रदेशको सभामुख बन्दा केही नहुने अनि अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बन्दा चाहिँ राप्रपाकै नेता कार्यकर्ताले बिरोध गर्नु अनौठो भएको भन्दै विष्ट पक्षधरले आन्तरिक रुपमा प्रश्न समेत उठाएका छन् । नीति नियम सबैका हकमा बराबर हुनुपर्ने उनीहरुको तर्क छ ।

यता कोशी प्रदेशको सभामुखको विषयलाई लिएर राप्रपाको आन्तरिक कलह बढ्दै जाँदा राप्रपाभित्र सभामुख विष्टलाई राजीनामा गराउँनुपर्ने आवाज पनि उठेको छ । तर, यो आवाज बलियो बनेको खण्डमा कोशी प्रदेश हुँदै वागमतीका सभामुखसम्मको राजीनामाको कुरा आउने कतिपयको अनुमान छ । कतिपयले भने राप्रपाबाट प्रदेशहरुमा सभामुख बनेकाहरुको मात्रै यो विषय नभएको भन्दै अब विस्तारै राप्रपाका सबै सांसदले प्रदेश तहबाट पनि राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र उठ्न सक्ने आंकलन गरेका छन् । अहिले कोशीको विषय यत्तिकैमा सेलाएन भने राप्रपामा शुरु भएको यो विवादले भोलिका दिनमा उग्र रुप लिने र यसले अन्ततः पार्टी विभाजनको स्थिती सम्म पुग्दा पनि अनौठो भने नहुने केहीको बुझाई छ । पहिले पहिले सरकारमा सहभागीताको विषयलाई लिएर राप्रपा फुटेको दृष्टान्त भएका कारण पनि यतिबेला त्यो आशंकामा दम देखिदैन भन्ने ठाउँ भने छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार