Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

सोमबार मृत भेटिएका राधेकी श्रीमतीको पनि मृत्यु


चार महिनाअघि प्रेम विवाह गरेका पकडियाकी अस्मिता शर्मा र राधे सहनीको मृत्यु भएको छ । सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित सडक छेउको गहुँ खेतमा २२ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने अस्मिता सख्त घाइते अवस्थामा फेला परेकी थिइन् ।

सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । उनीहरु महोत्तरी लोहारपट्टी नगरपालिका–३ महदैयाका हुन् ।

प्रहरीका अनुसार उनीहरु विवाह पश्चात दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । उनीहरु आइतबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए । ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितालाई लिएर हिँडेका राधे सोमबार बिहान ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।

मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितालाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पु¥याइदिएका थिए । माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए ।

माइतमा अस्मितालाई घाइते अवस्थामा छाडेर साथीहरु भागे थिए । श्रीमान् राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले प्रहरीलाई खबर गरेपछि रातभर प्रहरीले खोजबिन गरेका थियो । बिहान राधे नै गहुँ खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो । तर, दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरु अस्मितालाई माइत पु¥याएर भागेका थिए । प्रहरीले भागेका तीनैजना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ ।

राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । उनका साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार