Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

राप्रपामा फुटको चिन्ता, प्रदेश सभामुखको विषयले चुलियो विवाद


राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र घोषणाको एजेण्डा बोकेको पार्टी राप्रपा फेरि फुटको संघारमा पुगेको आंकलन शुरु भएको छ । राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बनेको विषयलाई लिएर शुरु भएको राप्रपाभित्रको भाँडभैलो मत्थर होला भन्दा पनि थप चुलिँदो छ । राजेन्द्र लिङदेनलाई पार्टी अध्यक्ष बनाउँने कुरामा उतिबेला दह्रो साथ दिएका महामन्त्री डा.धबलशम्सेर जबरा अहिले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसँग व्यापक असन्तुष्ट छन् । सार्वजनिक कार्यक्रममा लिङदेनका विरुद्धमा मुख खोल्न नसकेपनि आफू निकटका नेता कार्यकर्तासँग महामन्त्री डा. धबलशम्शेर जबराले लिङदेनमा कमल थापा प्रवृत्ति देखिन थालेको बताउने गरेका छन् ।

कोशी प्रदेशमा लिङदेनको ग्रिन सिग्नल पाएपछि अम्बरबहादुर विष्ट सभामुख बनेको चर्चा पार्टीभित्र र बाहिर चलिरहेका बेला महामन्त्री डा.धबलशमसेर जबराले पार्टीको आगामी बैठकमा यसबारे लिङदेनसँग जवाफ मागिने आफूनिकटकाहरुलाई बताएका छन् । कोशी प्रदेशबाट सभामुखलाई राजीनामा गर्न नलगाउँने हो भने यसले पार्टीलाई ठूलो हानी गर्ने उनको ठम्याई छ । कोशी प्रदेशबाट सभामुखलाई जसरी पनि फिर्ता गराउँनुपर्ने लाइनमा महामन्त्री डा.धबलशमसेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहितका नेताहरु रहिरहँदा अध्यक्ष राजेन्द्र लिङदेन भने यो विषयमा मौन देखिएका छन् । राजेन्द्र लिङदेनको यही मौनताक कारण अन्य नेताहरुमा व्यापक आशंका पैदा भएको छ । लिङदेनकै आडभरोसामा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखले कुनै हालतमा राजीनामा नदिने बताएको महामन्त्री धबलशम्सेर जबरा पक्षधरको ठम्याई छ । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशमा सभामुख बनेको विषयलाई ठूलो मुद्दा बनाउने हो भने प्रदेश र संघका सबै सांसदहरुले राजीनामा दिनुपर्ने बताएका छन् । आफू सहित कोशी प्रदेशका सभामुख पक्षधर नेताहरुलाई कारबाहीको धम्की नदिन चेतावनी दिँदै उनले कोशी प्रदेशमा राप्रपाले सभामुख पद लिनु नै गलत हो भने प्रदेश निर्वाचनमा चाहिँ किन भाग लिएको त भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन् ः कोशी प्रदेशको सभामुखबाट अम्बरबहादु विष्टले राजीनामा दिनुपर्छ भन्ने राप्रपाका साथीहरुलाई मेरो चुनौती भयो : ल सबै सांसदहरुलाई पनि राजीनामा दिनुपर्छ भन्न सकौं । अन्यथा दोहोरो कुरा गर्दै नगरौं ।

भक्तिप्रसाद सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापाका नेता हुन् भने कोशी प्रदेशको सभामुख बनेका अम्बरबहादुर विष्ट पनि लिङदेनकै गृहजिल्ला झापाका हुन् । लिङदेनको सल्लाह बेगर कोशी प्रदेशमा उनीहरु अघि बढ्नै नसक्ने राप्रपाका असन्तुष्ट पक्षधरको बुझाई छ । आफ्नो गृहजिल्लाका राप्रपा नेताहरुलाई कोशी प्रदेशमा पद दिलाएर खुसी पार्ने काममा राजेन्द्र लिङदेन लागेको भन्दै असन्तुष्ट पक्षधरले राप्रपाको आगामी बैठकमा लिङदेनलाई ¥याख¥याख्ती पार्ने योजना बनाएका छन् । असन्तुष्ट पक्षधरहरुले लिङदेन बिरुद्ध मोर्चाबन्दी नै शुरु गरेको बुझिएको छ । आगामी बैठकमा राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला र उनी मार्फत सभामुखलाई राजीनामाका लागि स्पष्ट निर्देशन दिने निर्णयमा लिङदेन नआए लिङदेनकै राजीनामा माग्ने तयारी भएको राप्रपाका एक नेताले बताए । उनका अनुसार लिङदेनको विकल्प खोज्नेगरी पार्टी नेताहरुबीच छलफल शुरु भएको छ । तर, केही नेताले भने राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनमत बढिरहेका बेला राप्रपा बिबादमा अल्झन नहुने भन्दै राप्रपा यस्तै विवादमा अल्झिए राप्रपा नै समाप्त हुने चेतावनी दिएका छन् ।

राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनी संयोजक रहेको केन्द्रीय निर्देशन समिति बैठकको निर्देशन समेत लत्याउँदै राप्रपा कोशी प्रदेशले सभामुखमा अम्बरबहादुर विष्टलाई अघि सारेपछि राप्रपाकोे विवाद शुरु भएको थियो । कोशी प्रदेशबाट सभामुख फिर्ता गराउँनुपर्ने र नपर्ने विषयमा राप्रपा नेताहरु विभाजित हुँदा राप्रपा नै विभाजन हुने खतरा बढेको छ । साना साना विषयलाई लिएर यसअघि पनि पटक पटक विभाजनको मार खेपेको राप्रपा फेरि विभाजित भएमा पार्टी उठ्नै नसक्ने बुझाईमा राप्रपाका केही नेताहरु छन् । जसले पार्टीलाई एक ढिक्का राखिराख्नका लागि नेतृत्वलाई दबाब दिँदैछन् ।

वागमती प्रदेशमा राप्रपाले सभामुख लिँदा केही नहुने अनि कोशीमा लिँदा चाहिँ पार्टी नै सकिने भयो भनेर रोइलो गर्न नहुने उनीहरुको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !
विचार