Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

छोरीको बलात्कार र छोराको हत्या आरोपमा बावु पक्राउ


आफ्नै छोरीको बलात्कार तथा १८ वर्षीय छोराको हत्या गरेको आरोपमा उनकै बावु ४५ वर्षीय नयाराम बुढा पक्राउ परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा आफ्नै छोराको हत्या गरेको आरोप लागेका नयाराम बुढालाई बिहीबार बिहान १० बजे कैलालीको टिकापुर–१ बाट लुकीछिपि बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ । गत सोमबार राति घरनजिकै रहेको बाख्रा खोर छेउमा नयाराम बुढाका १८ वर्षीय छोराको हत्या भएको अवस्थामा शव फेला परेको थियो । उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ। उनकी बहिनी घाइते अवस्थामा मङगलबार फेला परेकी थिइन्।

दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि कुटपिट गरी हत्या भएको घटनाको प्रारम्भिक अनुसन्धान गर्दा चार महिना अघि बलात्कार भएको घटनासँग जोडिएको हुन सक्ने प्रहरीको निष्कर्ष छ । घरमा दाजुबहिनी मात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बुवाले आफुलाई जबरजस्तीकरणी गरेको किशोरीले सोधपुछका क्रममा बयान दिएको प्रहरीको भनाइ छ । बावुले आफुलाई जबरजस्ती करणी गरेको कुरा ती किशोरीले आफ्नी कान्छी आमालाई भनेकी थिइन् । कान्छी आमाले यस्तो कुरा बाहिर नभन्न र भनेमा ज्यान तलमाथि हुने धम्की दिएपछि ती किशोरीले आफुमाथि बुवाले गरेको व्यवहारका बारेमा दाइलाई भनिन् । यो घटना असोजमा भएको थियो ।

बहिनीलाई बलात्कार गरेको आरोपमा घाइते पीडितका दाजुले बाबुविरुद्ध गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणीको जाहेरी दिएका थिए । यही घटनाका कारण दाइको हत्या र बहिनीको हत्या प्रयास भएको हुन सक्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । मुद्दा परेपछि उनी कान्छी श्रीमतीसहित भागेर भारत गएका थिए ।

भारतमा लुकेर बसेका उनी नेपाल आएर छोराको हत्या गरी फरार भएका थिए । आफूविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुलेनै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भारतमा रहेका उनी घटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए । घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए ।

यस घटनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक टोली नै बनाएर अनुसन्धान गरिरहेको छ। प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले यो घटना अनुसन्धान गरिरहेका छन्। अनुसन्धानको सिलसिलामा उक्त टोलीले बाबुलाई लुकेर बसेको अवस्थामा कैलाली टिकापुरकाट आज बिहिबार पक्राउ गरेको हो।

बाबुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार