Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

एकैवर्षमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गर्न सफल भइन् मनिषा


इच्छाशक्ति, मेहनत र संघर्ष गरे नेपालमै पनि केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश उनले दिएकी छिन् ।

उनले एकै वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गर्न सफल भएकी छिन् । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ हाडहाडे गाँउमा जन्मिएकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच वटा परीक्षा पास गरेकी हुन् ।

उनले यो सफलतासँगै वाहवाही बटुलेकी छिन् । ठूला राजनीतिक दलका नेतादेखि लिएर विभिन्न पद र तहमा भएका व्यक्तिहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । उनले अध्ययन गरेका विद्यालय तथा कलेजहरुले शुभकामना दिदैँ तस्बिरहरु पोस्ट गरेको छ । सोसियल मिडियामा उनको समाचार जताततै देख्न सकिन्छ । बधाई र शुभकामनाको ओइरो लागिरहेको छ ।

जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन् । मेहनत र परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाई छ । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे समेत जानकारी दिएकी छिन् ।

उनलाई बाल्यकालदेखि नै नर्सिङ विषय पढेर बिरामीको सेवा गर्ने रुचि थियो । सोही रुचि अनुसार उनले मेहनत गर्दै गइन् । सानैदेखि उनी पढाइमा अब्बल थिइन् । राम्रो पढाइकै कारण उनले नर्स पढ्नका लागि छात्रवृत्ति पाएकी थिइन् । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी उनले करिब पाँच वर्ष करार सेवामा काम गरिन् ।

काम गर्दागर्दै उनी लोकसेवा आयोगद्धारा लिइने परीक्षामा सहभागी भइन् । उनीसँग काम गरेको अनुभव प्रशस्तै थियो । परीक्षका लागि एक महिना मात्र तयारी गरेर परीक्षा पास भएको उनले बताइन् । ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ, रुचि र इच्छा शक्ति सबैभन्दा ठूलो कुरा हो । विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुने र नेपालमै सम्भव हुने उनी बताउछिन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ सालमा पास गरेकी हुन् । त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट पास गरेकी हुन् ।

उनी अहिले बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत पनि छिन् । उनले अन्य व्यक्तिलाई हिम्मत नहार्न र निरन्तर अगाडी बढ्नका लागि पनि आग्रह गरेकी छिन् । अगाडी बढ्छु मात्रै भनेर हुँदैन, उतिकै मेहनत गर्न पनि आवश्यक हुने उनको भनाइ छ ।

आफुलाई सहज तरिकाले पढ्ने वातावरण तयार गरिदिएको र यो स्थानसम्म आउनका लागि, आफूले सफलता पाउनुमा परिवारको ठूलो हात रहेको भन्दै उनले सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद समेत दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार