आज (शुक्रबार) बिहान दार्चुलामा महेन्द्रनगरतर्फ आइरहेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
आज सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको जिल्ल प्रहरी कार्यलय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।