काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नयाँ सारथीका रुपमा प्रदीप परियार आएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारले प्रदीप परियारलाई काठमाडौं महानगरपालिकामा पठाएसँगै उनलाई बालेन शाहको नयाँ सारथीका रुपमा हेरिएको हो । यसअघि बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा वसन्त अधिकारी रहेका थिए । तर, अधिकारीसँग पछिल्लो समय बालेन शाहको सम्बन्ध राम्रो थिएन ।
महानगरपालिकाका मेयर बालेन शाहले करारका कर्मचारीको म्याद थप सम्बन्धमा वसन्त अधिकारीले दायाँबायाँ गरेको भन्दै उनलाई बिदामा बस्न लगाएका थिए । ५ जना कर्मचारीको करार थप गर्ने निर्णय भएकोमा वसन्त अधिकारी सहितका व्यक्तिहरुले आफूलाई झुक्याउनेगरी ६ जनाको करार थप गरेको फाइल आफ्नो टेबुलमा ल्याएको भन्दै मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृतप्रति आगो बनेका थिए ।
करार प्रकरणमा मेयर बालेन शाहले आफ्नो सचिवालयका प्रमुख सहित अन्य ४ जना कर्मचारीलाई निलम्बन नै गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत लगाएतमाथि छानबिन गर्ने भन्दै मेयर शाहले आफ्नै अगुवाईमा छानबिन शुरु गरेका थिए भने छानबिन नसकिँदै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कार्यालय आउन लागेको सुइँको पाएपछि उनले वसन्त अधिकारीको कार्यकक्षमा ताला लगाउन निर्देशन दिएका थिए । वसन्त अधिकारीबाट काम गर्न नसक्ने भन्दै मेयर बालेन शाहले उनको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउने आफू निकटकालाई बताएका थिए । मेयर बालेन शाहकै रोजाईमा प्रदीप परियारलाई काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको बुझिएको छ । सरकारले विभिन्न २९ जना सहसचिवको सरुवा गर्दा बालेन शाहको रोजाईमा नै काठमाडौं महानगरपालिका पुगेका प्रदीप परियार यसअघि योजना आयोगमा थिए । योजना आयोगमा रहेका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिकामा बालेन शाहसँग पठाउँदै गर्दा सरकारले यसअघि काठमाडौं महानगरपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा पठाएको छ । बालेन शाहसँगको सम्बन्धमा अन्तिम समय तित्ततापूर्ण सम्बन्ध बनाएका वसन्त अधिकारी अब मधेशी आयोगमा सचिवका रुपमा रहनेछन् ।
यता काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका प्रदीप परियार मेयर बालेन शाहकै रोजाईको व्यक्ति भएका कारण पनि मेयर बालेन र परियार बीच कामको ट्युनिङ मिल्ने महानगरपालिकाका अन्य कर्मचारीहरुको भनाई छ । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि शुरुवाती दिनमा वसन्त अधिकारीसँग पनि बालेन शाहको काम गराईको ट्युनिङ भने मिलेको थियो । तर, कर्मचारीको करार थप गर्ने विषयमा भने उनीहरुबीच मन मिल्न सकेन । मेयर बालेन शाहले आफूलाई प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गुमराहमा राख्न खोजेको रुपमा बुझे भने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफ्नो नियत त्यस्तो भएको नभई आफूलाई पनि अन्य कर्मचारीले गुमराहमा पारेको बताए । आफ्नो नियत सफा हुँदाहुँदै पनि आफू मातहतका केही कर्मचारीका कारण मेयर बालेन शाहसँग सम्बन्ध बिग्रेको भन्दै अधिकारीले आफू निकटकासँग गुनासो गर्ने गरेका छन् । मेयर बालेन शाहलाई सफल पार्न आफूले सकेको भूमिका खेलेको भन्दै उनले मेयर बालेन शाहले पछिल्लो समयमा भने आफूलाई नबुझेको उनले आफू निकटकासँग दुखेसो पोखेका छन् ।
मेयर बालेन शाह र यसअघिका प्रमुख प्रशासकीय अधिकृतबीच शुरुमा राम्रो सम्बन्ध हुँदाहुँदै जसरी अन्तिम समयमा सम्बन्ध चिसियो अबका प्रमुख प्रशासकीय अधिकृतसँग भने त्यस्तो नराम्रो सम्बन्ध पक्कै नहुने महानगरपालिकाका केही कर्मचारीहरुले विश्वास लिएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्रदीप परियारको इन्ट्री पहिलो भएपनि मेयर बालेन शाहको काम गराईबारे सार्वजनिक सञ्चार माध्यमबाट पनि प्रदीप परियारले यथेष्ट बुझेका कारण उनीहरुबीचको सम्बन्ध राम्रो हुने कर्मचारीहरुको बुझाई छ ।