
राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको राप्रपाको बैठकमा आफ्नै नेता कुट्ने चेतावनी आएपछि यसले तरंग सृजना गरेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको राप्रपाको आन्दोलन परिचालन समितिको बैठकमा आफ्नै नेतालाई कुट्न नपरोस् भन्दै चेतावनी आएपछि यसले तरंग पैदा गरेको हो । पार्टीका मुख्य नेताहरुबीच देखिएको विवादका कारण पार्टीबारे जनस्तरमा गलत सन्देश गएको भन्दै राप्रपा काठमाडौं महानगरका अध्यक्ष केदार धमलाले राप्रपा नेताले बिगारेको पार्टी भएको भन्दै पार्टीकै नेताहरुलाई कुटेर आन्दोलनमा जानुपर्ने अवस्था नआओस् भन्ने चेतावनी दिएका थिए ।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक तथा महामन्त्री धबल शमसेर राणाले शुक्रबार पार्टी कार्यालयमा बोलाएको बैठकमा नेताहरु डा.प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान, ज्ञानेन्द्र शाही, डा.ठाकुरमोहन श्रेष्ठ, कर्णबहादुर शाही लगाएत सहभागी थिए भने पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पशुपति शम्सेर जबरा लगाएतका नेताहरु भने बैठकमा थिएनन् । बैठक अघि बढ्दै जाँदा राप्रपा काठमाडौं महानगरका अध्यक्ष केदार धमलाको जब बोल्ने पालो आयो । तब धमला आक्रोशित रुपमा प्रस्तुत भए । फागुनबाट पार्टीले घोषणा गरेको आन्दोलन सफल पार्नका लागि सबैभन्दा पहिले पार्टीका नेताहरु मिल्नुपर्ने सुझाव मात्रै उनले दिएनन् यदि नेताहरु एकआपसमा मिल्न नसक्ने हो भने नेताहरुलाई कुटेर आन्दोलनमा जाने चेतावनी नै दिए । पछिल्ला दिनमा नेतृत्व तहमा रहेका नेताहरुबीचको विवादबाट राप्रपाको कार्यकर्तापंक्ति वाक्कदिक्क भइरहेका बेला धमलाको यो चेतावनी आएपछि राप्रपा नेतृत्व तहमा खैलाबैला मच्चिएको छ ।
फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको पार्टीले अहिले सम्म आन्दोलनको खाका तयार गर्न सकेको छैन भने कोशी र वागमती प्रदेशमा राप्रपाले लिएको सभामुख पदको विषयले राप्रपाका माथिल्लो तहका नेताहरुबीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप शुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबलशमसेर जबरा तथा पार्टीको निर्देशन समितिका संयोजक डा.प्रकाशचन्द्र लोहनीबीच एकआपसमा मिल्ती छैन । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक सञ्चार माध्यमका अन्तर्वार्ताहरुमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपा बुझ्नै बाँकी रहेको, डा.प्रकाशचन्द्र लोहनीलाई आफूले पत्र दिएर निर्देशन समितिको संयोजक बनाइदिएको तर, अहिले पार्टी अध्यक्षलाई नै निर्देशन दिने तबरले अघि बढेको भन्दै आक्रोश पोखेका छन् भने यता रवीन्द्र मिश्रदेखि लिएर धबलशम्सेर राणा तथा प्रकाशचन्द्र लोहनी सम्मका नेताहरु प्रदेश सभामुखका मामलामा राजेन्द्र लिङदेनलाई घुँडा टेकाउने रणनीतिमा छन् । डा.प्रकाशचन्द्र लोहनीले निर्देशन समितिको नाममा कोशी प्रदेशको मामलामा लेखेको पत्रप्रति अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक रुपमै असन्तुष्टी व्यक्त गरेका छन् । निर्देशन समितिका नाममा पार्टीभित्र कू को प्रयास भएको लिङदेनको बुझाई छ । विशेषगरी प्रदेश सभामुखको विषयलाई लिएर बढेको राप्रपा नेताहरुबीचको असन्तुष्टीले कार्यकर्ता तहमा यतिबेला निराशा पैदा गरेको छ । जुन निराशाको एउटा झिल्को शुक्रबारको बैठकमा देखिएको हो ।
फागुनबाट गरिने भनिएको आन्दोलनका विषयमा छलफल गर्न पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका सयोजक धबलशमसेर राणाले बोलाएको बैठकमा धेरै असन्तुष्टी पार्टीको नेतृत्वपंक्तिप्रति पोखिएको थियो । बैठकमा बोल्ने केहीले राप्रपाबाट प्रदेश सभामुख बनेकाहरुलाई मात्रै फिर्ता बोलाएर नहुने भन्दै प्रदेशका सबै सांसदहरुलाई राजीनामा गर्न लगाएर मात्रै आन्दोलनमा जानुपर्ने बताएका थिए । एकातिर प्रदेशसभामा सहभागी हुने अनि अर्कातिर त्यही प्रदेशसभाको खारेजीको माग लिएर सडकमा जाँदा जनताले आफूहरुलाई बाँकी नराख्ने भन्दै बैठकमा सहभागी केहीले राप्रपा प्रष्ट भएर अघि बढोस् भन्ने जनताको चाहना रहेको बताएका थिए ।
बैठकमा देखिएको कडा आक्रोशको स्पष्ट जवाफ पार्टीका कुनै पनि नेताले नदिएको बैठकमा सहभागी राप्रपाका एक नेताले बताए । उनका अनुसार दिउँसो १ बजेबाट शुरु भएको बैठक करिब ३ घन्टा चलेको थियो । सहभागीहरुको आक्रोश बढ्दै गएपछि ज्ञानेन्द्र शाही भने जरुरी काम परेको भन्दै बैठकको बीचमै निस्किएका थिए ।