Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

राप्रपाको किचलो उत्कर्षमा, फुटको चिन्तामा कार्यकर्ता


राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको एजेण्डा सहित फागुनबाट सडक आन्दोलन गर्ने घोषणा गरेको राप्रपा आफैं भने आन्तरिक किचलोको भुमरीमा फसेको छ । पार्टीका माथिल्लो तहका नेताहरुको विवाद सार्वजनिक रुपमै छताछुल्ल भएको छ भने पार्टीका नेताहरुको विवाद देखेर कार्यकर्ता तहमा पार्टी कतै फुट्ने त होइन भन्ने चिन्ता पलाएको छ । राजेन्द्र लिङदेनलाई उतिबेला अध्यक्ष बनाउन खुलेरै साथ दिएका डा.प्रकाशचन्द्र लोहनी, महामन्त्री धबलशमसेर राणा लगाएतका नेताहरु लिङदेनको कार्यशैलीप्रति रुष्ट छन् भने लिङदेनले सार्वजनिक रुपमै डा.लोहनीप्रति कडा टिप्पणी गरेका छन् ।

व्यक्तिगत रुपमा आफूले डा.लोहनीलाई मान्ने भएपनि डा. लोहनीका पछिल्ला क्रियाकलापलाई राप्रपा अध्यक्षका रुपमा आफूले मान्न नसक्ने लिङदेनको भनाई छ । कोशी प्रदेशको सभामुख निर्वाचनको विषयलाई लिएर डा. लोहनीले निर्देशन समितिका तर्फबाट जारी गरेको निर्देशनले राजेन्द्र लिङदेन आक्रोशित भएका हुन् । डा.लोहनीले कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नै नदिन र दिएको उम्मेदवारी फिर्ता लिन भन्दै राप्रपाको कोशी प्रदेशका नाममा केहीदिनअघि निर्देशन जारी गरेका थिए । सोही निर्देशनपछि शुरु भएको राप्रपाको भाँडभैलो अहिले सतहमै आएको छ । आफूलाई अध्यक्ष भन्दापनि माथि देखाउनेगरी निर्देशन समितिका नाममा निर्देशन जारी भएको भन्दै त्यस्ता गतिविधी सच्च्याउन लिङदेनले भनेका छन् । तर, डा.लोहनी सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबलशम्सेर राणा लगाएतका नेताहरु भने प्रदेशको सभामुख लिएर राप्रपाले गल्ती गरेको भन्दै गल्ती सच्याउन अध्यक्ष लिङदेन चाहिँ तयार हुनुपर्ने पक्षमा छन् ।

अध्यक्ष राजेन्द्र लिङदेन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच सार्वजनिक रुपमै घोचपेच शुरु भएको छ । अध्यक्ष लिङदेनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा हिजो अस्ती आएको मान्छे उहाँले राप्रपा के बुझ्नु भएको छ भन्दै सार्वजनिक रुपमा प्रश्न गरेका छन् भने मिश्रले नबुझेको मान्छेलाई बुझाइदिन भन्दै लिङदेनप्रति व्यंग्य गरेका छन् । सरकारमा यसअघि भएको सहभागिता, प्रदेशसभामा पार्टीले लिएको सभामुख पद र निर्देशन समितिको निर्देशनका विषयमा पार्टीको कार्यसम्पादन र केन्द्रीय समितिमा प्रश्न उठाइने सार्वजनिक अभिव्यक्ति वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दिइरहँदा निर्देशन समितिको निर्देशनबारे पार्टीमा कुनै छलफल नै नहुने पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । पार्टी अध्यक्षका रुपमा आफूले निर्देशन समितिका निर्देशन मानिरहनुपर्ने बाध्यता नभएको भन्दै अध्यक्ष लिङदेनले निर्देशन समितिको काम सुझाव मात्रै दिने भएको दाबी गरेका छन् । आफैंले बनाइदिएको संयोजक र आफैंले बनाइदिएको वरिष्ठ उपाध्यक्षले आफैंलाई चुनौती दिएको महसुस गरेका लिङदेन पछिल्ला दिनमा डा.लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रप्रति निकै रुष्ट देखिन्छन् । विवादको पृष्ठभूमी कोशी प्रदेशको सभामुख पद र निर्देशन समितिको निर्देशन जस्तो देखिएपनि लिङदेन र मिश्रहरुबीचको असमझदारीको कारण अरु पनि भएको राप्रपाका नेताहरुको भनाई छ ।

पार्टीमा करिब डेढ वर्षअघि मात्रै प्रवेश गरेका रवीन्द्र मिश्रले पार्टीमा गुट बनाउदै आफ्ना विरुद्धमा लाग्न थालेको बुझाई अध्यक्ष राजेन्द्र लिङदेनमा देखिन्छ भने राजेन्द्र लिङदेन मै सर्वेसर्वा भन्ने पाराले अघि बढेकाले उनलाई बेलगाम छाड्न नहुने पक्षमा रवीन्द्र मिश्र, डा.प्रकाशचन्द्र लोहनी र धबलशम्सेर राणाहरु देखिन्छन् । विभिन्न समयमा साना साना कुरामा टुट फुटको नमिठो अनुभव सँगालेका राप्रपा कार्यकर्ताहरु भने पार्टीको माथिल्लो तहका नेताहरुको यस्तै बेमेलताले फेरि पार्टी फुट्ने त होइन भन्ने चिन्तामा छन् । त्यही चिन्ताकै कारणले होला राप्रपा आन्दोलन परिचालन समितिको बैठकमा राप्रपाका एक नेताले उच्च तहका नेताहरुलाई कुटेर आन्दोलनमा जान नपरोस् भन्ने चेतावनी नै दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार