जुम्लामा आज यस वर्षकै पहिलो हिमपात भएको छ । हिमपात भएपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् ।
गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज बिहान पानीसँगै हिमपात परेपछि किसान निकै खुसी भएका छन् । जौ र गहुँबाली लगाएका किसानलाई यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।
माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अरु उच्च पहाडी भेगका केही ठाउँमा पनि हिमपात भएको छ ।