बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अर्बपति बिनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेसँगै अब बिनोद चौधरी पनि तानिन सक्ने बजार हल्ला चलेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हत्याउनका लागि उतिबेला चौधरी परिवारका हर्ताकर्ता बिनोद चौधरीले खेलेको भूमिकाका कारण उनी तानिन सक्ने अनुमान गरिएको हो । २०४२÷४३ साल ताका चौधरी परिवारको व्यवसायका नेतृत्वकर्ता विनोद चौधरीका बुवा लुनकरणदास चौधरी थिए । तर, लुनकरणदासका तीन भाई छोरा मध्ये जेठा छोरा अर्थात बिनोद चौधरी उतिबेला दरबारसँग पनि निकै नजिक थिए । तत्कालिन अधिराजकुमार धिरेन्द्र शाहसँग बिनोद चौधरीको उठबस औधी राम्रो थियो । त्यही सम्बन्धको प्रयोग गरेर चौधरी परिवारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याएको जानकारहरु बताउँछन् ।
निरन्तर घाटामा गएको भनिएको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा चौधरी परिवारको च्याम्पियन फुटवेयरका नाममा ल्याउनका लागि के के गरियो भन्ने कुराको बेलिविस्तार बाहिरिसकेको छ । उतिबेला विनोद चौधरीले वार्षिक १० लाख जोर जुत्ता च्याम्पियन फुटवेयरले उत्पादन गर्ने, उक्त कम्पनीमा बाँसबारी जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने लगाएतका प्रस्ताव दरबार हुँदै बाँसबारी छाला जुत्ता कारखानाका प्रमुखसम्म लगेका रहेछन् । दरबार मार्फत आएको प्रस्ताव भनेपछि छाला जुत्ता कारखानाको बोर्डले पनि दायाँबायाँ नगरी कारखानाको जग्गा चौधरी परिवारको च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा नामसारी गरिदिने निर्णय गरेछ ।
चौधरी परिवारका नाममा नामसारी गर्ने निर्णयबारे त्यतिबेलाको कहानी अझ अचम्म लाग्दो छ । चौधरी परिवारको च्याम्पियन फुटवेयर कानुनी रुपमा दर्ता भइसकेकै थिएन । बिनोद चौधरीले अधिराजकुमार धिरेन्द्र मार्फत बाँसबारी छाला जुत्ता कम्पनीको बोर्डलाई यसरी प्रभावमा पारेछन् कि २०४३ कार्तिक २७ गते चौधरी फुटवेयर दर्ता हुनुअघि नै अर्थात २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कम्पनीको बोडैले चौधरी परिवारले सञ्चालन गर्ने भनेको च्याम्पियन फुटवेयरका नाममा जग्गा नामसारी गरिदिने निर्णय गरेछ । अचम्म लाग्दो सो निर्णय गर्ने त्यतिबेलाको बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापा अहिले विनोद चौधरीका भाई अरुण चौधरीसँगै प्रहरी हिरासतमा छन् ।
वार्षिक १० लाख जोर जुत्ता उत्पादन गर्ने र त्यसको २५ प्रतिशत शेयर बाँसबारी कारखानालाई दिने आश्वासन दिएको चौधरी परिवारको उक्त कम्पनीले सहमति अनुसार जुत्ता उत्पादन गरेन । जग्गा हत्याउने एकमात्र उद्देश्य भएपछि जुत्ता उत्पादन नै किन गर्न प¥यो । जग्गा आफ्नोमा नामसारी भएपछि चौधरी परिवारको उद्देश्य पूरा भइहाल्यो । ३ वर्षपछि उत्त कम्पनीले जुत्ता उत्पादन नै बन्द गरेछ । बिनोद चौधरीको अगुवाइमा चौधरी परिवारमा आएको उक्त जग्गा पछि अरुण चौधरीले उपयोग गर्न थालेछन् । पछि यसको इतिहास कोट्याउन पनि जो कोहीले नसकोस् भनेर च्याम्पिएन फुटवेयरलाई हतारहतार सिजी चाँदबाग रेसिडेन्सीमा रुपान्तरण गरिएछ । अहिले सो रेसिडेन्सीका सञ्चालक अरुण चौधरी र उनकी श्रीमति शिला चौधरी हुन् भने हत्याइएको उक्त जग्गामा विनोद चौधरी हर्ताकर्ता रहेको चौधरी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको छ ।
जग्गा चाँदबाग रेसिडेन्सी कम्पनीका नाममा रहेको र उक्त कम्पनीको सञ्चालक अरुण चौधरी भएका कारण अहिले यो जग्गा प्रकरणमा अरुण चौधरी पक्राउ परेपनि बाँसबारी जग्गा प्रकरणको लहरो यत्तिकैमा टुंगिने छाँटकाँट भने देखिदैन । अनुसन्धान अघि बढ्दै जाँदा बिनोद चौधरीदेखि लिएर तत्कालिन दरबार समेत यो प्रकरणमा तानिने सम्भावना देखिन्छ । तर, अनुसन्धान कसरी हुन्छ भन्ने कुरा चाहिँ धेरै महत्वपूर्ण रहेको छ ।