नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ ।
सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका एक सूचना अधिकारीले जानकारी दिए ।
उनका अनुसार अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको हो । मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ ।
सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो । यो समयमा काम नसकिए पछि माघ २० सम्मलाई समय थपिएको थियो । तर काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो ।
पुन थप भएको समय अनुसार फागनु १२ गतेसम्म दिउसोको समयमा सडक बन्द हुनेछ ।