विश्वकै धनाढ्यहरुको सूचीमा रहेका विनोद चौधरी आफ्ना कान्छा भाई अरुण चौधरी पक्राउ परेपछि यतिबेला निकै तनावमा छन् । पक्राउ परेका अरुण चौधरीको मात्रै प्रेसर बढेको छैन अहिले बिनोद चौधरीको चिन्ताको पारो पनि ह्वात्तै बढेको छ । चिरायु अस्पताल हुँदैे पक्राउ परेका भाईलाई ग्रयाण्डी अस्पतालमा लैजाँदै गर्दा दाजु बिनोद चौधरी चाहिँ नेताहरुलाई फोन घुमाउन व्यस्त छन् । ठूला नेताहरुसँग उनको यतिबेला हारगुहार चलिरहको छ । बासबारी छाला जुत्ता जग्गा प्रकरण अनुसन्धानको लहरो आफू सम्मै आइपुग्ने पक्कापक्की भएपछि बिनोद चौधरी अहिले न निन्द्रा न भोकको अवस्थामा छन् । नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सान्त्वना त दिइरहेका छन् तर, देउवाको कडा दबाब प्रचण्डसम्मै नपुग्ने हो भने भाई अरुणकै हालत आफ्नो पनि हुने उनको ठम्याई छ । त्यही ठम्याईका कारण पनि चौधरी परिवारको दौडधुप यतिबेला राज्यका माथिल्लो निकायहरुकोमा बढ्न थालेको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा शुरुमा भाई तानिएपनि यो जग्गा प्रकरण सिंगो चौधरी परिवारसँग जोडिएका कारण ढिलो चाँडो आफूहरु तीनै भाई यसमा तानिने र आफूहरुको औद्योगिक साम्राज्य ध्वस्त हुने उनीहरुको बुझाई छ । यही बुझेर यतिबेला चौधरी परिवार भएभरको शक्ति खर्चन लागिपरेको छ । देशमा मात्रै नभएर विदेशमा पनि आफ्नो औधोगिक साम्राज्य विस्तार गरिरहेको चौधरी परिवारको जीवनमा सम्भवतः यति ठूलो आपत आइलागेको यो पहिलोपटक हो । यो आपतलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले त विनोद चौधरीको दशा शुरु भएको भनेर टिप्पणी गरेका छन् । त्यस्तै टिप्पणी यतिबेला चौतर्फी भइरहेको छ । चौधरी परिवारको दबाब या प्रभावमा छानबिन प्रकृया रोकिएला खबरदार भनेर औंला ठडयउनेहरु पनि प्रशस्तै छन् ।
बिहिबार पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको साटो भिआइपी बसाईका लागि हस्पिटलमा लगिएको आरोप लगाउनेहरुको सख्या पनि कम छैन । पक्राउ पर्नुपूर्व केही नभएका व्यक्तिलाई सुविधा सम्पन्न हस्पिटल लगिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले असन्तुष्टी जनाएका छन् । कतिपयले पक्राउ गर्दा हत्कडी किन लगाइएन भनेर प्रहरीलाई प्रश्न पनि गरेका छन् । हिरासतको बसाई छल्न अरुण चौधरीलाई दिन नहुने र उनको रोजाईको हस्पिटल नभई सरकारी हस्पिटलमा राखिनुपर्ने आवाज पनि केहीले उठाएका छन् । चौधरी परिवारले उतिबेला सरकारी जग्गा हडप्नका लागि विभिन्न खेल खेलेको भन्दै अनेक टिप्पणी भइरहदा र अरुण चौधरी पक्राउ परे लगत्तै विनोद चौधरी पनि तानिन सक्ने हल्ला फैलिरहँदा बिनोद चौधरी तनावमा पर्नु अस्वभाविक होइन ।
उतिबेला सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनका लागि चौधरी परिवारमा बिनोद चौधरीको रोल विशेष रहेको भन्दै गएको जेठ महिनामा नै यो विषय संसदका उठेको थियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा विशेष समय लिएर बोल्दै आफ्नो व्यवसाय विस्तारका लागि बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा संसदमा रहेका एकजना माननीयले हडपेको भनेर बिनोद चौधरीतर्फ इंगित गरेका थिए । पैसा र पावरका कारण बाँसबारी जग्गा प्रकरणको छानबिन अघि बढ्न नसकेको भन्दै उनले असन्तुष्टी मात्र पोखेका थिएनन् छानबिन प्रकृया अघि नबढे ठीक नहुने चेतावनी दिएका थिए ।
व्यवसाय विस्तारमा सामान्य उल्झन खेपेपनि चौधरी ग्रुपले आफ्नो औद्योगिक साम्राज्य विस्तारमा पछाडि फर्केर हेर्नुपरेको थिएन । गाइँगुईँ पहिलेदेखि नै सुनिन्थ्यो ः चौधरी परिवारले गर्न हुने र नहुने धेरै गरेको छ भनेर । तर, ठोस प्रमाण सार्वजनिक भएका थिएनन् । अहिले बाँसबारी जग्गा प्रकरणको छानबिनका लागि अर्बपति विनोद चौधरीका भाई समातिएपछि आफैं तानिने भयले बिनोद चौधरी आत्तिएका छन् । राजनीतिक छत्रछायाँ उनका लागि त्यति कठिन पक्कै नहोला । नेपाली राजनीतिमा दबाब र प्रभावले काम नगर्ने भन्ने हुँदैन । त्यसैले पनि उनको तनाव केहीदिनमा नै मत्थर हुने अनुमान गर्न भने गाह्रो छैन ।