Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

अरुण चौधरी छुटाउन प्रचण्डलाई देउवाको दबाब


अर्बपति बिनोद चौधरीका भाई अरुण चौधरीलाई छुटाउन चर्को राजनीतिक दबाब परिरहेको खबर सार्वजनिक भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैभन्दा धेरै दबाब दिइरहेको बुझिएको छ । अरुण चौधरी पक्राउ परेपछि देउवा स्वयंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अरुणको विषय के हो भन्ने कुरा गरेको बालुवाटर स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सोचविचार नै नगरी के गरेको भनी प्रश्न गरेका थिए । अरुण चौधरीलाई पक्राउ गरेर गल्ती गरेको कुरा बालुवाटारलाई बताएका देउवाले चौधरीलाई छाडिहाल्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।

प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको फोन जानुअघि अरुण चौधरीका दाजु बिनोद चौधरी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुमाथि राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरेका थिए । विषय भाई अरुणको मात्रै नभएर चौधरी परिवारकै रहेको भन्दै उनले आफूहरुले कानुन सम्मत गरेको काममा राजनीतिक प्रतिशोध लिनु ठिक नभएको बताएका थिए । प्रधानमन्त्रीलाई स्वयं आफैंले भेटेर कुरा गर्दा पनि कानमा बतास नलाएको महसुस भएपछि बिनोद चौधरी पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगे । पार्टी सभापति देउवासँग चौधरीले आफूले प्रधानमन्त्रीलाई भनेको कुरा ब्रिफिङ गर्दै तत्काल प्रधानमन्त्रीसँग कुरा गरेर भाईलाई छुटाइदिन आग्रह गरे । सभापति देउवाले तत्कालै प्रधानमन्त्री प्रचण्डलाई फोन घुमाउँदै अरुण चौधरीका विषयमा कुरा गरे । प्राप्त जानकारी अनुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले गल्ती नभए डराउन नपर्ने बताए । प्रधानमन्त्रीको यस्तो कुरा सुनेपछि देउवाले अरु म जान्दिनँ गृहमन्त्रीलाई भनेर अरुणलाई छाड्दिनुस भने ।

तर, प्रधानमन्त्री प्रचण्ड भने चौधरी परिवारका विषयमा अहिले गृहमन्त्रीलाई दबाब नदिने पक्षमा छन् । बालुवाटार स्रोतले जनाए अनुसार देउवाको फोनपछि प्रचण्डले गृहमन्त्रीसँग आफूलाई आइरहेको दबाबका विषयमा बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले प्रष्ट शब्दमा आफूले गराएको जानकारीलाई तपाइँले चाहिँ दबाबका रुपमा नलिनु भनेको बुझिएको छ । प्रधानमन्त्रीको भनाईपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणका सम्बन्धमा नआत्तिकन छानबिन गर्न सिआइबीलाई निर्देशन दिएका छन् । सिआइबी स्रोतले दिएको जानकारी अनुसार अरुण चौधरीलाई पक्राउ गर्नुपूर्व बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा सिआइबीले पटकपटक गृहमन्त्रीसँग गोप्य ब्रिफिङ गरेको थियो । करिब तीन महिनाअघि गृहमन्त्रीसँग सिआइबी नेतृत्वले उपलब्ध प्रमाणहरुका विषयमा गृहमन्त्रीलाई जानकारी गराएको थियो । गृहमन्त्रीसँगै यो विषय प्रधानमन्त्री प्रचण्डसम्म पनि पुगेको थियो । पछि आउन सक्ने दबाबको पूर्वानुमान गरेरै प्रहरी नेतृत्वले गृहमन्त्री र प्रधानमन्त्रीसँगको बिफ्रिङलाई प्राथमिकतामा राखेको थियो । गृहमन्त्री र प्रधानमन्त्री दुबैले यो विषयमा चाख लगाएर प्रहरी नेतृत्वको कुरा सुनेका थिए । तीन महिनाको बीचमा पछि प्राप्त प्रमाणहरुका विषयमा पनि गृहमन्त्री र प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

प्रहरी स्रोतका अनुसार अरुण चौधरीलाई पक्राउ गर्ने अघिल्लो दिनपनि सिआइबीले गृहमन्त्रीसँग रि कन्फर्म गरेको थियो । गृहमन्त्रीले प्रधानमन्त्री पनि सकारात्मक रहेको र कुनै प्रकारको दबाब भोलिका दिनमा आउला कि भन्ने नसोच्न प्रहरीलाई भनेका थिए । गृहमन्त्रीको विश्वासिलो संकेत पाएसँगै बिहिबार सिआइबी टोलीले अरुण चौधरीको घरलाई बिहानैदेखि निगरानीमा राखेको थियो । सिआइबीको एउटा टोली अरुण चौधरीको घरमा र अर्को टोली अदालतमा पुगेको थियो । अदालतबाट पत्र ल्याएपछि सिआइबी टोलीले अरुण चौधरीलाई उनकै निवासबाट नियन्त्रणमा लियो ।

प्रहरी नियन्त्रणमा परेपछि भने अरुण चौधरीको बसाई अस्पतालमा भएको छ । यसबीचमा उनीसँग प्रहरीले बयान समेत लिइसकेको प्रहरी स्रोतले बताएको छ । बयानका क्रममा चौधरीले आफूहरुले कानुन सम्मत रुपमा नै काम गरेको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार