Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

नेकपा एमाले धादिङ अधिवेशनको विषयलाई लिएर नेताहरूबीच कुटाकुट, ओलीले बोलाए बालकोट


नेकपा एमाले धादिङ अधिवेशनको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले धादिङ एमालेका नेताहरूलाई बालकोट बोलाएका छन् । एमालेको दुई समुहबीच धादिङमा कुटाकुट भएको खबर सार्वजनिक भएसँगै अध्यक्ष ओलीले दुबै पक्षका नेताहरूलाई बालकोट बोलाएका हुन् ।

शनिबारको बन्दसत्रमा धादिङमा एमालेका दुई पक्षबीच कुटाकुट भएको थियो । ओली पक्षकै दुई नेताको लडाइँका कारण लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको नेकपा एमाले धादिङका एक नेताले बताए ।

धादिङमा १९ गतेदेखि सुरू भएको नवौं जिल्ला अधिवेशन २२ गते बिहान ८ बजेसम्मका लागि स्थगित समेत भएको अनेरास्ववियु धादिङ जिल्ला कमिटि कोषाध्यक्ष सादिक मियाँले आजको प्रेसलाई जानकारी दिए । ओली पक्षकै दुई नेताबिच विवाद भएपछि अधिवेशन स्थगित भएको हो ।

धादिङमा निर्वतमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन्। नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरु हर्षोल्लासमा भए पनि पार्टीमा गुट सिर्जना गरी एकाधिकार जमाउन खोज्ने केही कार्यकर्ता तथा नेता भएका कारण अधिवेशन सफल हुन नसकेको मियाँको भनाई छ । धादिङमा भूमि त्रिपाठीको समूह बलियो रहेको उनको दाबी छ ।

निवर्तमान कमिटीका तीन पदाधिकारीसहित अधिकांश सदस्य त्रिपाठीको पक्षमा उभिएपछि परिणाम आफ्नो पक्षमा पार्न अधिकारी समूह लागिपरेको उनले बताए । अधिवेशनको विषयलाई लिएर एमालेको दुई समुहबीच कुटाकुट भएपछि दुवैपक्षले पालैपालो विज्ञप्तीसमेत जारी गरेका थिए ।

झगडापछि बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान एक विज्ञप्ती जारी गर्दै जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका थिए ।

केहिबेरपछि निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अर्को विज्ञप्ती जारी गर्दे अधिवेशन यथावत् रहेको भन्दै बन्दसत्र सुरू गरेका थिए । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली नै धादिङबेसी जाने कार्यक्रम थियो। तर बाटो लामो भएको कारण देखाउँदै ओली गएनन्। उनी नगएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार