Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

रविविरुद्ध सहकारी ठगीमा प्रहरीले लिन मानेन जाहेरी


ग्यालेक्सी टेलिभिजनका पूर्व म्यानेजिङ डाइरेक्टर तथा रास्वपाका सभापति रवि लामिछानेविरूद्ध पोखराको सूर्यदर्शन सहकारीका पिडितहरुले दिएको जाहेरी प्रहरीले लिन नमानेको पाइएको छ । तीनचोटीसम्म जाहेरी लिएर जाँदा पनि प्रहरीले दर्ता गर्न नमानेको पीडितहरुले बताएका छन् ।

लामिछाने राजनीतिक दलका ठूला नेता भएकै कारण प्रहरीले जाहेरी लिन नमानेको पीडितहरुको भनाइ छ । सहकारीको सदस्य नै नभएका लामिछानेको खातामा सुर्यदर्शन सहकारीबाट एक करोड ८० लाख रुपैयाँ गएको भन्दै लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । सुर्यदर्शन सहकारी ठगीमा मुछिएका ग्यालेक्सी टिभीका अध्यक्ष जिबि राईसहित केही नाम मुछिएका व्यक्तिहरु फरार छन् ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफुहरु रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका एक सदस्यले बताए । सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने पीडितहरूको भनाइ छ। लामिछानेले भने सहकारीमा आवद्ध नभएकाले ठगीमा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन्। उनले बचत कर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउदै आएका छन् । लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताउदै आएका छन् । तर, उनले भनेजस्तो व्यवहारमा लागु नगरेको र आफुहरुलाई न्याय नदिलाउने पीडितहरुको भनाइ छ ।

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रवन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ। पीडित पक्षले अहिले अदालतमा दर्ता भइसकेको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदन नै अपुरो भएको बताएका छन्। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदन र कास्की प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन दुवै अपुरो भएको उनीहरूको भनाइ छ।

सहकारी ऐन २०७४ ले सहकारी संस्थाबाट सदस्यलाई मात्र ऋण परिचालन र बचत संकलनको अधिकार दिएको छ भने कम्पनीमा लगानी गर्न निषेध गरेको छ। महानगरले गरेको छानबिन प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ४ सय ३३ वटा खातामार्फत १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रूपैयाँ लगेको देखाएको छ। सहकारीमा १८ हजार ७ सय जनाले १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैया बचत गरेको उल्लेख छ। महानगरले छानबिनका क्रममा सहकारीको सफ्टवेयरमार्फत् उक्त विवरण संकलन गरेको थियो। जुन प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएपछि मात्र प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

महानगरको प्रतिवेदन पाएपछि प्रहरीले सहकारी ठगीमा उजुरी दिन आह्वान गरेको थियो। सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै एक हजार ३६ जनाले प्रहरीमा उजुरी दिएका थिए।

पत्रकार सम्मेलन गरेरै सहकारी पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता गरेका लामिछाने पीडितहरु भौतारिरहदाँ उनी भने आफ्नै पार्टीले आयोजना गरेको ‘राष्ट्रव्यापी दबाब अभियान’ यात्रामा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार